बुटवल - पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको ७३ वर्षको उमेरमा निधन भएको हो।
चित्रकार भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा बैशाख १७ गते भर्ना भइ उपचाररत थिए। श्वासप्रश्वासमा समस्या देखिएको र सघन उपचारकक्षमा उपचारकै क्रममा चित्रकारको विहान ७:५० बजे मृत्यु भएको मेडिकल कलजेका सूचना अधिकारी तेज प्रसाद केसीले बताए। सुरुमा स्वास्थ्य अवस्था सामान्य भए पनि एक्कासी समस्या बढ्दै गएको उनका छोरा दीपु चित्रकारले बताए।
दलित आन्दोलनका नेतासमेत रहेका चित्रकार तत्तकालीन राजा महेन्द्रले देशैभर सिमित वक्ताका रुपमा पठाउने मध्येका एक नेता थिए। तत्तकालिन राजाले मुलुकी ऐन २०२० जारी गरेपछि देशैभर रजतजयन्ती महोत्सवको कार्यक्रम संयोजक भएर उनले काम गरेका थिए।
वि.सं. २००५ सालमा तानसेनमा चित्रकारको जन्म भएको हो। राजाको प्रत्यक्ष शासनमा चित्रकार राजनीतिमा सक्रिय थिए। वि.सं. २०५८ सालमा राजा ज्ञानेन्द्रले कु गरेपछि चित्रकार भूमि सुधार सहयाक मन्त्री बनेका थिए भने २०३८ र २०४३ को राष्ट्रिय पञ्चायतमा चुनावसमेत लडेका थिए। केहि समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी समाले पनि पछिल्लो समय भने स्वतन्त्र रुपमा सामाजिक आन्दोलनमा सक्रिय थिए।
आर्ट कलाकारसमेत रहेका चित्रकारको निधनले नेपालको सामाजिक र राजनीतिक क्षेत्रमा क्षती पुगेको संविधानसभा सदस्य विनोद पहाडीले बताए। राजनीतिमा इमान्दारीता र सामाजिक सुधारका निम्ति निरन्तर क्रियाशिल एक राजनीतिज्ञलाई मुलुकले गुमाएको उनले बताए। चित्रकारका एक छोरा एक छोरी र श्रीमती छन्।
