सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल टेलिकम र एनसेलले इ वानलाइन नदिएर पेलेको स्मार्टको गुनासो

नेपाल टेलिकम र एनसेलले इ वानलाइन नदिएर पेलेको स्मार्टको गुनासो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दुरसञ्चारका ठुला सेवाप्रदायक कम्पनी नेपाल टेलीकम र एनसेलले इ वानलाइन पर्याप्त नदिएर पेल्न खोजेको भन्दै स्मार्ट सेलले गुनासो गरेको छ । 

स्मार्ट सेलले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल टेलीकम र एनसेलले पर्याप्त इ वानलाइन नदिँदा स्मार्ट टेलीकमका ग्राहकहरु मर्कामा परेका उल्लेख गरेको छ । इवानलाइन भन्नाले एउटा सेवा प्रदायकको नेटवर्कबाट अर्को सेवाप्रदायकको नेटवर्कमा एकैपटक गर्न सकिने कलको आकार (संख्या) हो । 

दुरसञ्चार प्राधिककरणको इन्टर कनेक्सन गाइडलाइन (निर्देशिका) अनुसार सबै सेवाप्रदायक संस्थाहरुबीच सबैले सबैलाई इ वानलाइन उपलब्ध गराउनुपर्ने व्यवस्था छ । 

तर, नेपाल टेलीकम र एनसेलले यो प्रावधान पालना नगरेको आरोप लागेको छ। विज्ञप्तीमा भनिएको छ, ‘जसले गर्दा स्मार्टका ग्राहकले नेपाल टेलीकममा फोन गर्दा फोन लाग्दैन । फोन नलाग्ने तथा रुट व्यस्त भएको भन्नेजस्ता सन्देश मात्रै प्रवाह हुन्छन् । नेपाल टेलीकमले निर्देशिका अनुसार, लाइन उपलबध नगराउदा स्मार्टले आफ्नो आम्दानीसमेत गुमाइरहेको छ ।’

निर्देशिकामा छुट्याइएको इ वानलाइनमा ७० प्रतिशतभन्दा बढी कलप्रयोग भए (टफिक ) थप लाइन दिनुपर्ने प्रावधान छ । तर नेपाल टेलीकमले स्मार्टलाई मारमा पार्दै त्यसबारे दिइरहेका लाइनसमेत बन्द गरेको स्मार्टको आरोप छ।  स्मार्ट टेलीकमले भने अन्य नेटवर्कका लागि उपलब्ध गराउने इवानलाइन खुल्ला राखेको जनाएको छ ।

दुरसञ्चार प्राधिकरणले अघिल्लो साता गरेको अनुगमनका क्रममासमेत बिहान ९ देखि ११ बजे र साँझ ५ देखि ७ बजेकोबीचमा (पीओआइ युटिलाइजेसन) ७५ प्रतिशतभन्दा बढी ट्राफिक देखिएको थियो । 

दुवै सेवाप्रदायकलाई निर्देशिकाअनुसार इ वानलाइन उपलब्ध गराउने बारेमा नेपाल दूर सञ्चार प्राधिकरणसमेत मौन देखिन्छ । निर्देशन कार्यान्वयन भएनभएको अनुगमनसमेत गरिरहेको छैन । 

यसबारे नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मीनकुमार अर्यालले नेपाल टेलीकम र एनसेललाई क्षमता बढाउन पत्राचार गरी एकसाताभित्र समस्या समाधान गर्न निर्देशन दिएपनि दुई ठूला सेवाप्रदायकले वेवास्ता गरेको बताए । उनले भने, बारम्बार निर्देशन दिएका छौं । ठूला सेवाप्रदायकले सानालाई नियन्त्रण गर्न खोज्छन् । यो हामीलाई सह्य हुदैन । उनले निर्देशिकाअनुसार क्षमता नबढाए कारबाही गर्ने बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्