काठमाडौं - कोरानोको दोस्रो लहर तीव्र फैलिएसँगै सरकारले अनिश्चितकालका लागि राष्ट्रिय जनगणना स्थगित गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ औं जनगणनाको सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको हो।
सरकारले निर्णय लिए पनि अझै केन्द्रीय तथ्यांक विभागमा भने आधिकारिक पत्र पुगेको छैन।
केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक तथा गणक प्रमुख हेमराज रेग्मीले निर्णयका विषयमा सुनेको तर आधिकारिक पत्र आइनपुगेको नेपाल समयलाई जानकारी दिए। उनले भने, ‘हामीले पनि स्थगितको निर्णय भएको सुन्यौ। भरेसम्म आधिकारिक पत्र आइपुग्ला।’
गणक प्रमुख रेग्मीका अनुसार अहिले करारमा नियुक्त भएका ९ हजार सुपरिवेक्षकको तालिम चलिरहेको थियो। विभागले तत्काल उक्त तालिम स्थगित गर्ने तयारी गरे पनि सरकारले गणना नै स्थगित गरेको हो।
१२औं जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। असारसम्म गणनाको सबै रिपोर्ट बुझाउने कार्यतालिका थियो। सरकारको निर्णयसँगै कार्यतालिका प्रभावित हुने भएको छ।
नेपालमा १९६८ देखि हरेक १०-१० वर्षमा जनगणना हुने गरेको छ।
