बुटवल- नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको घोषणा गरेका छन्। माओवादी, कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट ४२ सांसदको बहुमत भएको भन्दै केसीले मुख्यमन्त्री घोषणा गरेका हुन्।
४२ जना सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनको दावी गरेपछि प्रदेश प्रमुख कार्यालय अगाडि धर्नामा बसेका गठबन्धनका तर्फबाट बोल्दै प्रदेश प्रमुखले असवैधानिक काम गरेको नेता केसीको टिप्पणी छ।
‘३७ जना सांसद रहेको एमालेका मुख्यमन्त्री नियुक्ति गरे शपथ ग्रहण गररेर दुर्घना निम्त्याइएको छ’, केसीले भने, ‘म ४२ सांसदको बहुमतवाला मुख्यमन्त्री हुँ, नाटक बन्द गरेर सपथ हामीलाई दिनुस्।’ उनले मुख्यमन्त्रीमा नियुक्त भएका शंकर पोखरेललाई शपथ खुवाए परिणाम राम्रो नआउने चेतावनी दिए। यद्यपि मुख्यमन्त्री पोखरेलले शपथ लिइसकेका छन्।
केसीले ४२ सांसदमाथि अपमान गरेर असंवैधानिक कदम चलाउने नाटक बन्द गर्न प्रदेश प्रमखुलाई चेतावनी दिए। उनले मुख्यमन्त्री आफू नै भएको बताउँदै कर्मचारीलाई पनि त्यहीअनुसार काम गर्न निर्देशन दिएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पनि बहुमतको मुख्यमन्त्रीलाई शपथ नखुवाउन प्रदेश प्रमुखलाई आग्रह गरेका थिए। उनले भने, ‘सवैधानिक काम गर्न प्रदेश प्रमुख चुक्नुहुन्न, विधि कार्यान्वयन गर्नुस्।’
प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को १ अनुसार बहुमत दलका रुपमा एमालेका तर्फबाट मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका थिए। यो लगत्तै प्रदेश कार्यालय घेराउ गर्दै तीन दलले शपथ रोक्न माग गरेका हुन्। तर मुख्यमन्त्री पोखरेलले कडा सुरक्षा घेरमा शपथ लिएका थिए।
