बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बलियो सुरक्षा घेरामा बसेर पद तथा गोपनीयताको शपथ लिएका छन्।
दोश्रो पटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्ममन्त्री कार्यालयमा पुगेर पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेशका ४२ सांसदले मुख्यमन्त्री पोखरेलको नियुक्त खारेज गर्नुपर्ने भन्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेपछि प्रदेश प्रमुख नै मुख्यमन्त्रीको कार्यालयमा पुगेर शपथ गराएका हुन्। असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त भएकाे भन्दै माओवादी, कांग्रेसलगायतका दलले धर्ना दिएका थिए।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीले ४२ सांसदकाे हस्ताक्षरसहित नयाँ सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी प्रदेश प्रमुख समक्ष पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयमा एमालेबाहेकका दलले घेराउ गरेपछि प्रदेश प्रमुख नै मुख्यमन्त्रीको कार्यालयमा पुगेर शपथ गराएका हुन्।
आइतबार बिहान अप्रत्याशित रूपमा राजीनामा दिएका पाेखरेललाई ६ घन्टा बित्दानबित्दै एकल दलको बहुमत भएको भन्दै प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै बिहान राजीनामा दिएका थिए।
मुख्यमन्त्रीको राजीनामापछि लुम्बिनीको राजनीतिक जोडघटाउ छिनछिनमै फेरिएको छ। बाहिर नाराबाजी चलरहँदा मुख्यमन्त्रीले भने सपथ मुख्यमन्त्री कार्यालयमा सपथ लिए।

