काठमाडौं- नेपाल धितोपत्र बोर्डले ५ संस्थालाई कोष व्यवस्थापकका रूपमा काम गर्न अनुमति दिने तयारी गरेको छ।
बोर्डले आइतबार एक सूचना जारी गर्दै विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालनका लागि पाँच कम्पनीलाई कोष व्यवस्थापकका रूपमा काम गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गराएको हो।
बोर्डले ग्लोबल इक्विटी फन्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआइबिएल एस क्यापिटल, एनआइसी एशिया क्यापिटल र एनएमबी क्यापिटललाई आवश्यक पूर्वाधार तयार गर्न सूचित गराएको हो।
कम्पनीहरुले तोकिए अनुसार पूर्वाधार तयार गरेपछि कोष व्यवस्थापको काम गर्न अनुमति पाउनेछन्।
प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल कोष सञ्चालन गर्नका लागि विशिष्टिकृत लगानी कोष नियमावली–२०७५ जारी भएको थियो। नियमावली जारी भएपछि बोर्डले पहिलो पटक कोषलाई अनुमति दिने प्रक्रिया अघि बढाएको हो।
नेपालको पुँजीबजारमा हाल सेयर, डिबेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र प्रयोगमा छन्।कोषमार्फत नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न र नयाँ व्यवसाय, उद्यमलाई शुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन सकिने बोर्डले जनाएको छ।
पुँजीबजारको दायरा फराकिलो गर्न, पुँजीबजारमा आधुनिक वित्तीय उपकरणको प्रयोग गर्न पनि यसले सहयोग गर्ने बोर्डको विश्वास छ।
