काठमाडौं- नेपाल आयल निगमले पछिल्लो समय प्रति १५ दिनमा १ अर्ब घाटा हुन थालेको बताएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट बढेर आएको इन्धनको मूल्य अनुसार १ अर्ब रुपैयाँ घाटा भइरहेको दाबी निगमले गरेको हो।
मे १ मा आइओसीबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र नेपालमा सोअनुसार समायोजन नगरेकाले घाटा बढेको दाबी निगमले गरेको हो।
पछिल्लो समय पेट्रोलको मूल्यमा प्रतिलिटर ८.७६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा रहेको निगमको दावी छ।
‘जसले गर्दा पाक्षिक अर्ब रुपैयाँ नोक्सानी हुने देखिन्छ,’ निगम प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
मूल्य बढेअनुसार नेपालमा मूल्य समायोजन गर्न मिल्ने भएपनि कोभिड-१९ का कारण मूल्य नबढ्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६६.७६ डलर प्रतिब्यारेल रहेको छ। एक ब्यारेल तेलमा १६० लिटर तेल हुने गर्दछ।
अन्तर्राष्ट्रिय बजारमा तेलको उक्त मूल्य केही दिनअघिको तुलनामा न्युन हो। केही दिन अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलरसम्म पुगेको थियो।
