काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेध आदेश भोलि सोमबारदेखि अझ कडा बनाउने निर्णय गरेको छ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेध आदेशका नियमलाई अडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो।
अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिने निर्णय बैठकले गरेको छ। यसअघि बिहानका साथै बेलुका ५ बजेदेखि ७ बजेसम्म पनि पसल खोल्न अनुमति थियो।
बैठकले बैंकहरुमा बढेको घुइँचो घटाउन एक चौथाइमात्र शाखा खोल्न दिने पनि निर्णय गरेको छ। त्यसैगरी मास्क नलगाई हिँड्नेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गर्ने कामलाई पनि प्रहरीले निरन्तरता दिने भएको छ।
