काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय (केपी शर्मा ओली) सरकारको अधिनायकवादी चरित्र लुम्बिनी प्रदेशमा पनि प्रस्तुत भएको आरोप लगाएको छ। आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा प्रस्तुत भएको अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय भएको बताएका हुन्।
'केन्द्रमा प्रस्तुत हुंदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ। बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुरु गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनीसहित अपील गर्दछु,' उनले भनेका छन्।
घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै कांग्रेसले लुम्बिनीमा संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्ति भएको कांग्रेसको भनाइ छ। 'लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,' देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भर्त्सना गर्दछु।'
नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेको आरोप देउवाको छ। 'मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन,' विज्ञप्तिमा लेखिएको छ, 'नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ।'
संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई मुख्यमन्त्रीले राजीनामाको नाटक गरेको समेत भनिएको छ।'संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई मुख्यमन्त्रीले राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो,' विज्ञप्तिमा भनिएको छ।
यस्तो छ देउवाले जारी गरेको विज्ञप्ति
वैशाख १९, २०७८
लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय ।
लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु ।
नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसंग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन।
नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ । संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपु¥याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो ।
केन्द्रमा प्रस्तुत हुंदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत हुनु अत्यन्तै गम्भीर छ । बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपील गर्दछु ।
जय नेपाल ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
