काठमाडौं- वीर अस्पतालमा नवनिर्मित भवनमा ५ सय शय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल सुरु भएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा वीर अस्पतालका प्रतिनिधिसँग यस्तो छलफल गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
छलफलमा मुख्य सचिव शंकरदास बैरागी र प्रधानमन्त्री कार्यालयका सचिव डा खगराज बराल पनि उपस्थित थिए।
‘वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल भएको हो,’ पोखरेलको सचिवालयले उल्लेख गरेको छ।
छलफल सुरु भएपनि यो विषयमा निर्णय भइसकेको छैन। काठमाडौं उपत्यकासहित देशभर कोरोनाका बिरामी बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको सरकारले बताउँदै आएको छ।
