बिहीबार, भदौ ११, २०८३

कर्णालीमा अक्सिजनको हाहाकार

 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

सुर्खेत- एक हप्ताअघि सल्यानको बनगाड कुपिन्डे नगरपालिका–५ का ६० वर्षीय पुरुषको स्वास्थ्यमा गम्भीर समस्या देखियो।

केही समय पहिले भारतबाट गाउँ फर्किएका उनलाई कोरोनाको आशंका लाग्यो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख १३ गते परिवारले प्रदेश अस्पताल सुर्खेत पुर्‍याए। अस्पतालमा चेकजाँच गर्दा संक्रमण पुष्टि भयो। तर अस्पतालमा बेड पाएनन्। संक्रमित भए पनि अक्सिजनको मात्रा घटेको थिएन। त्यही कारण डाक्टरले उनलाई होम आइसोलेसनमा बस्न सुझाव दिए।

त्योबेला अस्पताल जटिल प्रकृतिका संक्रमितले भरिएको थियो। संक्रमितको उपचारका लागि अस्पतालमा २५ बेडमात्रै थिए तर संक्रमितको संख्या २८ पुगिसकेको थियो। अस्पतालमा बेड पाउने अवस्था नभएपछि उनी डाक्टरको सल्लाहअनुसार घर फर्किए। तर समस्या घट्नुको साटो झन्झन बढ्दै गयो। ‘१३ गते बेड पाएनौँ, अवस्था जटिल नभएपछि डाक्टरको सल्लाहअनुसार उहाँलाई घर लियौँ’, संक्रमितका आफन्तले भने, ‘अवस्था सुधार नभएपछि डाक्टरकै सल्लाहअनुसार १७ गते अस्पताल ल्यायौँ।’ अस्पताल पुर्‍याउँदा अक्सिजनको मात्र ६० मा झरिसकेको थियो।

अवस्था गम्भीर देखेपछि डाक्टरले हतारहतार अस्पताल भर्ना गरे। तत्काल अक्सिजन चढाए। तीन दिनदेखि उनी अक्सिजनको सपोर्ट छन्। तर बेला–बेलामा अक्सिजन सकिन्छ। कहिलेकाँही लामो समयसम्म खोज्दा पनि अक्सिजन पाउँदैन। ‘अक्सिजन आएपछि खोसाखोस नै पर्छ’ उनका आफन्तले भने, ‘नपाइएको दिन त एउटै सिलिन्डरबाट बाँडेर काम चलाउनुपर्छ।’ अक्सिजनको अभावका कारण शनिबार आफन्तहरुले अक्सिजन खोसाखोस नै गर्नु परेको थियो।

अक्सिजन समयमा आपूर्ति नभएका कारण अक्सिजन हाहाकार भएको अस्पतालको कोरोना फोकल पर्शन डाक्टर केएन पौडेलले बताए। ‘सिलिन्डर भर्न समय लागेका कारण शनिबार आपूर्ति भएन’ डाक्टर पौडेलले भने, दिनदिनै संक्रमित बढ्दै छन्, अब त हरेक दिन अक्सिजन हाहाकार हुन्छ।’ 

अस्पतालमा हाल नेपालगञ्जबाट दैनिक १२० देखि १५० शिलिन्डर आपूर्ति हुँदै आएको छ। जुन संक्रमितको संख्या एकदमै न्यून हो। अस्पतालमा हाल ४५ जना जटिल प्रकृतिका संक्रमित छन्। उनीहरु सबैलाई अक्सिजन चढाउनुपर्छ। ‘गम्भीर बिरामीहरुलाई त दैनिक २ देखि ४ वटासम्म सिलिन्डर अक्सिजन चाहिन्छ’ डाक्डर पौडेल भन्छन्, ‘बिरामीको तुलनामा आपूर्ति निकै न्यून हो।’ अस्पतालमा संक्रमित बाहेकका बिरामीलाई पनि दैनिक ५ देखि १० सिलिन्डर अक्सिजन आवश्यक पर्छ। तर बिरामी अनुपातमा आपूर्ति न्यून छ। 

‘४५ जना संक्रमितका लागि कम्तिमा दैनिक २०० सय सिलिन्डर आवश्यक पर्छ’ उनले भने, ‘जटिल प्रकृतिका संक्रमित बढिरहेका छन्, तत्काल आपूर्तिको मात्रा बढाउनुपर्छ।’ समयमा अक्सिजन आपूर्ति नभएपछि संक्रमितहरु आत्तिने गरेका छन्। अक्सिजन अभावमै आफन्तको मृत्यु हुन्छ कि भन्ने चिन्ता संक्रमितका कुरुवामा छ।

नेपालगञ्जबाट समयमा आपूर्ति नहुने अवस्था आएपछि अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने भएको छ। २४ घण्टाभित्र पुरानो अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेको अस्पतालले जनाएको छ। अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने उद्देश्यले जटिल प्रकृतिका संक्रमितलाई पुरानो अस्पतालमा सार्न थालिएको छ।

पुरानो अक्सिजना प्लान्ट केही समयदेखि बिग्रिएको थियो। उक्त प्लान्टबाट दैनिक ३ देखि ८ सिलिन्डरसम्म अक्सिजना उत्पादन हुन्छ। पुरानो अक्सिजन प्लान्ट सुरु भए पनि बिरामीको चापलाई भने थेक्दैन। पौडेलका अनुसार पुरानो प्लान्टबाट १० जना संक्रमितलाई मात्रै अक्सिजना दिन सकिन्छ। अस्पतालको नयाँ अक्सिजन प्लान्ट भने तत्काल सञ्चालमा आउन सक्ने अवस्था छैन। 

यसैबीच सुर्खेतमा अक्सिजनको हाहाकार हुन थालेपछि स्थानीय युवाहरुले अक्सिजन खरिद अभियान थालेका छन्। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुदीप पुरी, सञ्चारकर्मीहरु मिलन श्रेष्ठ र धर्म आचार्यलगायतले अक्सिजन जुटाउने अभियान थालेका हुन्।

संक्रमितका लागि अक्सिजन र अक्सिजनसहितको एम्बुलेन्स सञ्चालनका लागि रकम संकलन अभियान उनीहरुले सुरु गरेका छन्।

प्रकाशित: May 02, 2021| 12:08 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।