सुर्खेत- कर्णालीका पत्रकारहरुले कर्णाली प्रदेश सरकारसँग साढे ५ करोडभन्दा बढी बजेट माग गरेका छन्। प्रदेश सरकारले नयाँ ल्याउने बजेटमा ५ करोड ५५ लाख बजेट पत्रकारिता क्षेत्रको विकासको लागि छुट्याउन पत्रकारहरुले माग गरेका हुन्।
प्रदेशका १० वटै जिल्ला शाखासँगको समन्वयमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले प्रदेश सरकारसँग बजेट माग गरेको हो।
पत्रकारहरुले आगामी बजेटमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको जग्गा खरिद र भवन निर्माणका लागि १ करोड, पत्रकार कल्याणकारी कोष स्थापना तथा सञ्चालनका लागि २ करोड, हुम्ला, मुगु, डोल्पा, दैलेखको नयाँ भवन निर्माण गर्न ६० लाख, सुर्खेत, कालीकोट, जुम्ला, सल्यान, जुम्ला, रुकुम पश्चिम महासंघका भवन मर्मत, सुधार र कार्यालय व्यवस्थापनका ५० लाख माग गरेका ५न्।
त्यस्तै १० वटै जिल्लाका पत्रकारहरुको क्षमता विकासका लागि ५० लाख, विधागत पत्रकारिताको विकासका लागि, २५ लाख, लेखनवृत्तिका लागि १० लाख, लोककल्याणकारी सूचना प्रकाशन/प्रसारणका लागि ३० लाख र प्रदेश समिति तथा जिल्ला शाखा कार्यालय व्यवस्थापनका ३० लाख रकम विनियोजन गर्न माग गरेका हुन्।
आइतबार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटालगायतका पदाधिकारीहरुले आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीलाई भेटेर पत्रकारिताको विकासका लागि सरकारसँग बजेट माग गरिएको महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
