काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले थुनामुक्त गराइ पाउँ भनी दायर गरेको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ।
बस्न्यात पक्षले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले विशेष अदालतका नाममा कारणदेखाउ आदेश जारी गरेको हो।
‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक तीनदिन भित्र
महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू’ सर्वोच्चको आदेशमा भनिएको छ।
बस्न्यातका तर्फबाट उनका सहयोगी प्रज्ज्वल अधिकारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा पार्न संलग्न भएको आरोप लगाउँदै बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। डिल्लीबजार कारागार चलान भएका उनी हाल कोरोना संक्रमण भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन्।

