आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महामारीमा पनि चार प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण, जीडीपीमा कुन क्षेत्रको कति योगदान ?

महामारीमा पनि चार प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण, जीडीपीमा कुन क्षेत्रको कति योगदान ?

कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

काठमाडौं– कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको आर्थिक वृद्धि ४ प्रतिशत हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ। गत शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै विभागले आर्थिक वृद्धि ४.०१ प्रतिशत रहने प्रक्षेपण गरेको हो।

विभागका सूचना अधिकृत तीर्थराज चौलागाईंका अनुसार सो अनुमान विभागले गत चैत मसान्तसम्मको अवस्थालाई हेरेर गरेको हो। चैत मसान्तसम्म (आवको नौ महिनामा) मा नेपालको आर्थिक वृद्धि ३.९८ प्रतिशत छ। महामारीको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरुका कारण यो स्थिति देखिएको हो।

‘कोरोनाको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको, आर्थिक वर्षको अन्तिमसम्म कोभिड–१९ को नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलाप सामान्य किसिमले सञ्चालन हुने विश्वास गरिएसँगै करिब ४ प्रतिशत आर्थिक वृद्धिको अनुमान विभागले गरेको हो,’ चौलागाईंले भने। आवास तथा भोजन सेवाको क्षेत्रमा भने सुधार हुन थप समय लाग्ने अनुमान विभागले गरेको छ। 

विभागले जारी गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालको समग्र आर्थिक वृद्धिदर २.२१ प्रतिशतले ऋणात्मक हुने संशोधित अनुमान छ। विभागले केही महिनाअघि गत आर्थिक वर्षको आर्थिक वृद्धि १.९९ प्रतिशतले ऋणात्मक रहेको जनाएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७५–७६ मा मा नेपालको आर्थिक वृद्धिदर ६.३९ प्रतिशत रहेको संशोधित अनुमान सार्वजनिक गरेको छ। जबकी यसअघि विभागले नै सो आर्थिक वर्षमा ७.१ आर्थिक वृद्धि भएको जनाएको थियो। 

विभागले आर्थिक वृद्धिदर आर्थिक वर्ष २०६७–६८ को मूल्यलाई आधार मानेर अनुमान गरिएको पनि जानकारी दिएको छ। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २५.८३ प्रतिशत र गैरकृषि क्षेत्रको ७४.१७ प्रतिशत योगदान प्रारम्भिक अनुमान देखिएको विभागले जनाएको छ। 

विभागले आर्थिक वृद्धिदर मापन गर्ने क्षेत्रहरुलाई तीन तहमा विभाजन गरेर अध्ययन गरेको छ। विभागका अनुसार चालू आर्थिक वर्षमा प्राथमिक क्षेत्र (कृषि, वन, मत्स्य र खानी तथा उत्खनन्) ले कुल गार्हस्थ्य उत्पादन २६.४ प्रतिशत योगदान गरेको छ भने यस क्षेत्रको वृद्धिदर २.७५ प्रतिशत हुने अनुमान विभागले गरेको छ। धानको उत्पादनमा भएको वृद्धिका कारण यस क्षेत्रको केही वृद्धि हुने अनुमान विभागले गरेको छ।

त्यस्तै द्वितीय क्षेत्र (उद्योग, विद्युत्, ग्यास पानीको आपूर्ति तथा निर्माण)ले चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा १२.५ प्रतिशत योगदान गरेको छ। चालू आर्थिक वर्षमा यस क्षेत्रको वृद्धि ४.९३ प्रतिशतले हुने अनुमान विभागको छ। ऊर्जा क्षेत्रको विस्तार, मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न लगायतका कारणले यस क्षेत्रको वृद्धिमा प्रभाव पारेको विभागको दावी छ।

त्यसैगरी सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट लगायतका क्षेत्र पर्छन्। यो क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ६१.१ प्रतिशत योगदान दिएको छ। चालू आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ४.४३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। भोजन सेवा तथा यातायात क्षेत्रको प्रभावका कारण यो क्षेत्र बढी प्रभावित भएको क्षेत्र रहेको विभागले जनाएको छ। 

प्रकाशित: May 02, 2021| 09:18 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्