काठमाडौ - मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले स्थानीय वासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) नरोकिने भएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आईएमई क्यापिटलले स्थानीय वासिन्दाका लागि कम्पनीले जारी गरेको आईपीओ निषेध आदेश जारी भए पनि नरोकिने जनाएको हो।
बैंकका विभिन्न ४३ शाखाबाट आईपीओका लागि निवेदन दिन सकिने व्यवस्था भएको र निषेध आदेशका समयमा पनि बैंकहरू खुल्लै हुने भएकाले आईपीओमा निवेदन दिन स्थगित नगरिएको क्यापिटलको भनाइ छ।
कम्पनीका अनुसार हाल सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरूले आईपीओको फाराम लगिरहेका छन्। कम्पनीले वैशाख २१ गतेदेखि स्थानीय वासिन्दाका लागि आईपीओ जारी गरेको हो। सो आईपीओमा स्थानीय वासिन्दाले चाँडोमा जेठ ४ र ढिलोमा जेठ २० गतेसम्म आईपीओको लागि निवेदन दिन सक्ने छन्।
कोरोना संक्रमणका कारण उपत्यका र काभ्रेमा निषेध आदेश जारी छ भने सिन्धुपाल्चोकले पनि निषेध आदेश लागू गर्ने तयारी गरिरहेको छ। निर्माणाधीन मध्य भोटेकोसी जलविद्युत् आयोजना १०२ मेगावाटको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न लागेको छ। सोमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर भोटेकोसी गाउँपालिका–१ र ५, बाह्रबिसे नगरपालिका–५ र ६, ७ र ८ का स्थानीय वासिन्दाको लागि जारी गरिने छ।
बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सेयर भने जिल्लावासीका लागि कम्पनीले जारी गर्न लागेको हो।
सूचनाअनुसार स्थानीय वासिन्दाले न्यूनतम ५० देखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीले आईपीओको मूल्य प्रतिकित्ता १०० तोकेको छ। यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि सेयर जारी गरी वितरण गरिसकेको छ।
सेयर भर्नका लागि कम्पनीले विभिन्न बैंकका ४३ वटा शाखाहरू तोकेको छ। आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन गर्ने कम्पनीको दाबी छ।
