जनकपुरधाम - धनुषामा कोरोना संक्रमण तीव ग्रतिमा फैलँदै गएपछि मंंगलबारदेखि १० दिनसम्मका लागि निषेध आदेश जारी गरिएको छ।
कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेध आदेश गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिएका छन्।
यस अवधिमा सवारीसाधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए। त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने बास्तोलाको भनाइ छ।
बजार व्यवसाय सञ्चालनमा निश्चित समय तोकिए पनि औषधी पसलहरू नियमित सञ्चालन गर्न पाउने उनले बताए। यता सरकारी कार्यालयहरूमा अतिरिक्त सेवाग्राहीहरूको काम नहुने निर्णय सो बैठकबाट गरिएको छ।
बैठकले सरकारी कार्यालयहरूमा एक चौथाइ कर्मचारी मात्रै राख्न भनेको छ। सञ्चारकर्मीहरूले भने आफ्नो संस्थाको आइडी कार्ड लिएर आवतजावत गर्न पाउने छन्।
