काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो।
साथै संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद् कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा जनाइएको छ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका थिए। नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६९ (१) (क) अनुसार राजीनामा दिएका थिए।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेस हुन लागेको छ।

