वीरगंज- पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र क्षेत्र न.२ का सांसद विमल श्रीवास्तवले आफ्नो सांसद विकास कोषको रकम रकमान्तर गरी कोरोना रोकथाम र उपचारका वीरगंज महानगरपालिकालाई उपलब्ध गराएका छन्।
कोभिड–१९ को रोकथाम र उपचारको लागि भेन्टिलेटर किन्न तथा आइसोलेसनमा लाग्ने स्वास्थ्य समाग्रीका लागि यादव र श्रीवास्तवले ५८ लाख ८ हजार रकम रकामान्तर गरी उपलब्ध गराएका हुन्।
बुधबार जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा विभिन्न योजनामा विनियोजित बजेट काट्ने र स्थानीयवासीको जीवन रक्षामा खर्च गर्नेबारे छलफल भएको थियो।
छलफलमा निर्वाचन क्षेत्र नं. १ र २ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सञ्चालित स्थानीय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय गरिएको छ।
साथै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ का विभिन्न योजनाहरुको ५८ लाख ८ हजार रुपैयाँ वीरगन्ज महानगरपालिकालाई भेन्टिलेटर र स्वास्थ्य उपकरण खरिदका लागि दिने निर्णय बैठकले गरेको हो।
सरकारको नीतिअनुसार स्थानीय तहमा योजनाको रकम रकमान्तर गरी विकास कार्यमा लगाउन सकिने भएको हुँदा सो रकम कोरोना महामारी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकालाई दिने निर्णय गरिएको सांसद प्रदीप यादवले बताए। बैठकबाट निर्वाचन क्षेत्र नं. १ र २ अन्तर्गत पर्ने स्थनीय तह वीरगन्ज महानगरपालिकालाई परिपत्र गरी यसबारे जानकारी गराउने निर्णय गरिएको पर्सा निर्वाच क्षेत्र नं. १ का संघीय सांसद यादवले बताए।
उनले चाँडै खरिद प्रक्रिया पुरा गरी जनताको सेवामा लाग्न वीरगन्ज महानगरपालिकालाई अनुरोध गरेका छन्।
सांसद यादवले संसदीय विकास कोषबाट खरिद गरिएको एम्बुलेन्स र शव वाहन पर्सा क्षेत्र नं.१ को वीरगंज महानगरपालिकालाई यसै हप्ता हस्तान्तरण गरेका छन्।
स्थानिय पूर्वधार विकास साझेदारी कार्यक्रमको रकम कोरोना महामारी नियन्त्रणका लागि प्रस्तावित विकास वजेटबाट कट्टा गरेर कोरोना रोकथामका लागि रकÞम जुटाउने कार्य गरिएको सांसद यादवले बताए।
