आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फागुनदेखि सुपरदोर्दी 'ख'को बिजुली राष्ट्रिय प्रसारण लाइनमा

फागुनदेखि सुपरदोर्दी 'ख'को बिजुली राष्ट्रिय प्रसारण लाइनमा

निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना  साइट इञ्चार्ज रमेश सिग्देलले बताए। '८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ,' उनले भने।
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

लमजुङ- आगामी फागुनदेखि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ। जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको हो। 

निर्माण कार्य तीव्र भएकोले आगामी फागुनमा बिजुली उत्पादन गर्ने आयोजना  साइट इञ्चार्ज रमेश सिग्देलले बताए। '८५ प्रतिशत बढी निर्माण कार्य सकिएको र बाँकी काम निर्धारित समयमै सक्ने लक्ष्य छ,' उनले भने।

पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको यस आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो हो। यस आयोजनाको हालसम्म २२७ मिटर ठाडो पाइप खन्ने काम सकिएको छ जसमा ३७ मिटर पाइप बिच्छ्याइसकेको छ। 

दुई हजार १०० मिटरको सुरुङको आधा काम सम्पन्न भइसकेको छ। एक हजार ४०० मिटर सुरुङको फिनिसिङ कार्य भइरहेको र आगामी ५-६ दिनभित्र सम्पन्न हुने इन्चार्ज सिग्देलले बताए। यस्तै, एक हजार ६०० मिटरको सुरुङको समेत काम भइरहेको छ। यस सुरुङको ४२० मिटर सुरुङ खन्न बाँकी छ। आगामी जेठभित्र सुरुङ इनटेकको बाहिरी काम सम्पन्न हुने जनाइएको छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसको केही काम भइरहेको छ। यस पावर हाउसको सात मिटर चौडाइ र ५० मिटर लम्बाइमा पर्खाल लगाउने काम सकिएको छ।

पावर हाउसको सबै काम गरेर ६० प्रतिशत निर्माण सकिएको छ। आयोजनामा हाल ४०० जना कामदार कार्यरत छन्। विविध कारणले निर्माण कार्यमा ढिलाइ भएपछि २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको छ। आयोजनाको कूल लागत रु आठ अर्ब ८० करोड छ। सानिमा बैंकको अगुवाइमा ९ बैंकले ऋण  लगानी गरेका छन्। ७० प्रतिशत ऋण र बाँकी  प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ। आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ। आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पिपिए) सम्झौता भएको छ।

यस आयोजना निर्माण भइरहेको दोर्दी खोला अर्थात् दोर्दी करीडोरमा यसबाहेक चारवटा आयोजना निर्माणाधीन छन्। सोमध्ये हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ र छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन्।

प्रकाशित: May 01, 2021| 12:01 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्