वीरगंज- पर्सामा कोरोना संक्रमणबाट एक सातामा १६ जनाको मृत्यु भएको छ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिइरहेको पर्सामा संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ। नारायणी अस्पतालका अनुसार सोमबार ३ जना, मंगलवार ४ जना, बुधवार ४ जना, बिहीबार १ जना, शुक्रबार ३ जना, शनिबार (आज) एक जना गरी १६ जनाको मृत्यु भएको हो।
पर्सामा कुल १ हजार ४८६ जना कोरोना संक्रमित पुगेका छन्। जसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार २१९ छ। संक्रमितमध्ये नारायणी अस्पतालमा ३९, बयोधा हस्पिटलमा १४, गण्डक हस्पिटलमा ८ र नेशनल मेडिकल कलेजमा १८ जना उपचाररत छन्।
संक्रमितमध्ये भेन्टिलेटरमा २ जना, आईसीयूमा २९ जना र साधारण बेडमा ४९ जना उपचाररत रहेको कोभिड संकट व्यवस्थापन केन्द्र पर्साले जनाएको छ।
मृत्यु हुनेहरु सबै गम्भीर किसिमको निमोनियबाट ग्रसित रहेको नारायणी अस्पतालले जनाएको छ।
यो साता पर्सामा उपचार गराउन पुगेका बाराका ५ जना, सर्लाहीका २ जना र रौतहटका एक जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
