विराटनगर- विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीनै जनाको नोबेल मेडिकल कलेजमा आधाघण्टाको बीचमा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए। मृत्यु हुनेमा विराटनगर, सप्तरी र महोत्तरीका एक-एक जना छन्।
कोरोना संक्रमण भएपछि शुक्रबार अस्पताल भर्ना भएका विराटनगर-३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान ५:५० मा मृत्यु भएको हो। वैशाख १५ गते संक्रमण पुष्टि भएपनि उनी होम आइसोलेसनमा थिए। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो। उनी विराटनगर महानगरका नगर प्रहरी हुन्।
यस्तै, नोबेल अस्पतालमै सप्तरीको राजविराज-९ का ४५ वर्षीय पुरुषको पनि शनिबार बिहान मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो। संक्रमितमा उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या थियो।
नोबेलमै उपचाररत महोत्तरीका ३५ वर्षीय पुरुषको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको प्रबन्धक दाहालले जानकारी दिए। उनलाई उपचारका लागि शुक्रबार दिउँसो अस्पताल भर्ना गरिएको थियो।
