जनकपुरधाम- मिथिला राज्य संघर्ष समितिले ठिक ९ वर्षअगाडि आजकै दिन जनकपुरधामस्थित रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना दिइरहेको थियो। धर्ना दिइरहेकै अवस्थामा ठूलो बम विस्फोट भएपछि ५ जनाले सहादत प्राप्त गरे।
ती सहिदहरुले जीवन उत्सर्ग गरेको दिन प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाउने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि बलिदानी दिवस मनाइएको छ। रामानन्द चोकमा आयोजित श्रद्धाञ्लीसभामा वक्ताहरुले मिथिला राज्य स्थापनाका लागि दबाब दिएका थिए।
मिथिला बम काण्डको ७ वर्षपछि विसं २०७६ सालमा पूर्व सांसद सञ्जय साहलाई धनुषा जिल्ला अदालतले बम प्रकरणमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइसकेको छ।
२०६९ साल वैशाख १८ गते भएको बम विस्फोटमा परेर ५ जनाले ज्यान गुमाएका थिए। सो विस्फोटबाट मिथिलावासीले मिथिला आन्दोलनको योद्धा एवम् प्रतिभावान कलाकार रञ्जु झालाई गुमाउनु परेको थियो। रञ्जुका अतिरिक्त सो विस्फोटमा सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणलेसमेत सहादत प्राप्त गरेका थिए।
त्यो कालो दिन मिथिलावासीले कहिल्यै बिर्सिँदैनन्। कारण त्यो दिन मिथिला भूमिमाथि ठूलै बज्रपात भएको थियो। यो त्यही दिन हो जुन दिन मिथिलावासीलाई रञ्जु झा जस्तो योद्धालाई गुमाउनु परेको थियो।
मिथिला नाट्य कला परिषदका हास्य कलाकार रामनारायण ठाकुर भन्छन्, ‘यो पीडा हामीहरुको हृदयबाट कहिल्यै हट्ने छैन, किनकी अब रञ्जु हामीबीच रहिनन्।’
रञ्जुको संघर्ष
विसं २०३४ सालमा रञ्जु एउटा सामान्य परिवारमा जन्मेकी थिइन्। सामान्य परिवारमा हुर्के बढेकी रञ्जुलाई विवाहअघि जेजस्ता अभावहरुकाे सामना गर्नुपर्याे त्याेभन्दा ठूला समस्या विवाहपछि आइलागे। आर्थिक कठिनाइका बीच दुई सन्तानको पालन पोषणको जिम्मेवारी उनीमाथि थियाे। परिवारकाे गर्जाे कसरी टार्ने भन्ने कुनै उपाय उनीसँग थिएन।
यसै क्रममा रञ्जुले आफूभित्र रहेको गायकी र लेखन क्षमतालाई उजागर गर्ने निधो गरिन्।
उनी श्रीमानसँगै वि.सं २०५६ सालमा मिथिला नाट्य कला परिषदको परिसरमा आफ्नो गायकीको उडान भर्न पुगिन्। तर परिषदका वरिष्ठ कलाकार सुनिल मिश्र उनको लेखन र गायकीबाट प्रभावित हुन सकेनन्। यद्यपि संस्थालाई महिला कलाकारको खाँचो थियो। मिश्रले त्यो लोभकै कारण रञ्जुलाई स्थान दिने निर्णयमा पुगे।
रञ्जु गायिका बन्ने सपनाका साथ निरन्तर लागिपरिन्। यसै क्रममा उनको भेट नाटककार महेन्द्र मलंगियासँग भयो। मलंगियाले उनलाई गीतसंगीतमा भन्दा अभिनयमा राम्राे गर्न सक्ने क्षमता देखे र त्यस्तै सुझाव दिए। मलंगिया जस्तो नाटककारको त्यो सुझावलाई रञ्जुले काट्न सकिनन्।
रञ्जुले सोही वर्ष ‘काठक लोक’ नामक नाटकमा पहिलो पटक अभिनय गरिन्। तर उनको अभिनयबाट कोही प्रभावित भएनन्।
तर जब उनी दोस्रो पटक ‘गाम नहि सुतैया’ नामक नाटकमा आफ्नो अभिनयको क्षमतामा उर्जा थपिन् त्यसपछि नाटकका महारथीहरु पनि चकित भए।
रञ्जुले ओ खाली मुह देखै छै, गाम नई सुतैया, ओरिजिनल काम, छुतहा घैल, पुस जाढ कि माघ जाढ, विर्जु विल्टु आ बाबु, प्रेत चाहे असौचलगायतका नाटकमा आफ्नो अभिनय प्रतिभाको कौशल देखाइन्।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०५७ सालमा उत्कृष्ट कलाकारको पुरस्कार पाएकी रञ्जुले दीपक रौनियारद्वारा निर्देशित टेली फिल्म चौखठ, पूजा, आमा–२, सृष्टि, कालाजारमा पनि आफ्नो सशक्त अभिनयको प्रस्तुती दिएकी थिइन्।
यसका अतिरिक्त रञ्जुले बीबीसी नेपाली सेवाको रेडियो नाटक कथा मीठो सारङ्गीकोमा पनि आफ्नो आवाज दिएकी थिइन्।
२०६९ सालसम्म रञ्जु मिथिलाको एउटा हस्ती बनिसकेकी थिइन्। सम्पूर्ण मैथिल नारीको नेतृत्व गर्ने क्षमता उनमा थियो। सोहीअनुरुप मिथिला राज्य संघर्ष समितिद्वारा मिथिला राज्यको मागसहित गरिएको आन्दोलनमा महिला मात्र नभई पुरुष वर्गका कलाकारहरुलाई समेत उनले प्रेरित गरिन्।
मुद्दा यो कसलाई थाहा थियो मिथिला मैथिलीका लागि लड्ने रञ्जुका लागि यो अन्तिम लडाई हो। उनले मिथिलाका लागि आफ्नो प्राणको आहुति दिइन्।
त्यसैले त मिनापका तत्कालीन अध्यक्ष सुनिल मल्लिक उनलाई योद्धाको संज्ञा दिन्छन्। रञ्जुमा संघर्ष भरिएको थियो, उनी कुनै पनि चुनौती सहजै पार गर्न सक्ने क्षमता राख्थिन्।
रञ्जुको छोरा आँशु झा गहभरी आँसु झार्दै भन्छन् आमाले हामीलाई छोडेर गएकी छैनन् उनी मेरो संस्कार, मेरो रगत, मेरो हृदयमा छन्।
