काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा व्यवहारिक समस्या देखिएको भन्दै व्यवहारिक समाधान खोज्नुपर्ने बताएका छन्। १३२औँ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।
अध्यक्ष गोल्छाले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधारजस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने बताए। श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाकी रहेको बताएका छन्।
गोल्छाले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको उल्लेख गरे। दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने उनको भनाइ छ।
यस्तो स्थितिमा हाम्रा प्रयास र पहल अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित हुनु पर्ने बताउँदै अध्यक्ष गोल्छाले भने, ‘विश्वभर नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने संभावना छैन। यस्तो स्थितिमा जीउज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महसुस गरेका छौँ।'
संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउनजस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसबाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने हो कि भन्ने त्रास बढ्दै गएको उनको ठहर छ।
'हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि संचालन गर्न आग्रह गरेका छौँ। हाम्रा सामु जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन,' उनले भने।
कार्यक्रममा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा जोड दिए।
