काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकतामा अझै पनि कोरोना महामारी नपरेको भन्दै आपत्ति जनाएका छन्।
फेसबुकमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू यो लडाइँमा हामी सक्दैनौं भनेर मन्त्रालयले हात उठाउने अनि तपाईंको प्राथमिकतामा अझै पनि महामारी नपर्ने, आपत्तिजनक छ।’
उपलब्ध स्रोतसाधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ रहेको उनको भनाइ छ। ‘त्यसका लागि उपाय जानेकाहरूको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ,’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौं, कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’
अहिलेको कोरोना संक्रमणको भयावह अवस्थामा सरकार एक्लैले सामना गर्न नसक्ने भन्दै उनले सबै पक्ष र आमनागरिक जिम्मेवार बन्नैपर्ने पनि उनको भनाइ छ।
