विराटनगर- विराटनगर महानगरपालिका क्षेत्रभित्रका सडकमा सञ्चालन भइरहेका ५ दर्जनबढी सिटी सफारीलाई प्रहरीले एकैपटक नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सबै सफारी जिल्ला प्रहरी कार्यालय नजिकै रहेको खाली जग्गामा लगेर राखिएको छ।
६२ वटा सफारी शुक्रबार नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। उनका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, बिना दर्ताका र नम्बर प्लेट बिना नै सञ्चालन गरिँदै आएका सफारीलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो।
कानुन उल्लंघन गर्दै चलाइएका सफारीका कारण राजमार्ग एवं भित्री सडक खण्डहरुमा दुर्घटना बढेको र ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको जनगुनासो आएपछि कारबाही तीव्र पारिएको खड्काले बताए।
यातायात व्यवस्था कार्यालयमा दर्ता गरेर मात्रै सडकमा सफारी चलाउन पाइने नियम छ। कतिपय सिटी सफारी बिना नम्बर प्लेट सडकमा निर्वाध रुपले सञ्चालन भइरहेको र दुर्घटना गराएमा लिएर चालक तत्काल फरार हुने गरेको प्रहरीको भनाइ छ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार कुनै पनि नियम पूरा नगरी व्यस्त सडकमा सफारी कुदाइँदा यात्रुको जीवन पनि जोखिममा परिरहेको छ। लाइसेन्स प्राप्त नगरेको चालकका कारण दुर्घटना बढेको भन्दै सफारीहरूलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।
प्रहरी निरीक्षक खड्काले गलत तरिकाले चलाइएका सफारीलाई कारबाही गर्दा यात्रुको जीवन सुरक्षा हुने र विभिन्न प्रकारका जोखिम कम हुने बताए। नियन्त्रणमा लिइएका सफारीलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरेर आगामी दिनमा कानुन अनुसार मात्रै सञ्चालन गर्न पाउने गरी छाड्ने भएको छ।
ट्राफिक नियम उल्लंघनको कसूरमा १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। मोरङमा रहेका ५ हजार ५ सयमध्ये विराटनगर महानगरपालिकाभित्र मात्रै ३ हजार ५ सयभन्दा बढी सफारी सञ्चालनमा रहेको ट्राफिक प्रहरीले जनाएको छ।
