काठमाडौं- कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले कोरोना महामारी बढ्दै गएकाले भारतसँगका धेरैजसो नाकाहरु बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
हाल सञ्चालनमा रहेका ३५ नाकामध्ये २२ वटा नाका बन्द गरी १३ वटा मात्रै सञ्चालन गर्न सीसीएमसीको बैठकले सरकारलाई सिफारिस गरेको हो।
शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले १३ वटा नाकामात्र सञ्चालनको सिफारिस गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले नेपालसमयलाई जानकारी दिए।
उनका अनुसार बैठकले पशुपतिनगर, काँकडभिट्टा, जोगवनी, भिट्टामोड, गौर, वीरगञ्ज, कृष्णनगर, बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट नाका मात्र सञ्चालन गरी अरु सबै नाका बन्द गर्न सिफारिस गरेको हो।
यस्तै बैठकले बैंक तथा वित्तिय संस्थालाई एक चौथाई कर्मचारी मात्र राखेर सञ्चालनको अनुमति दिन सिफारिस गरेको छ। निषेध आदेश जारी भए पनि बैंक तथा वित्तिय संस्था खुल्लै रहेका छन्।
यी संस्थामा ठूलो संख्यामा कर्मचारी रहँदा संक्रमणको जोखिम झन् बढ्ने भन्दै सीसीएमसीले सरकारलाई यस्तो सिफारिस गरेको पाण्डेले जानकारी दिए।
