पोखरा- गोरखाको भिमसेन थापा गाउँपालिकाको एउटै गाउँमा ६४ जनामा कोरोना संक्रमण देखिएको छ।
गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले गाउँपालिकाको वडा नम्बर ७ को क्यामुनटार गाउँका ६४ जनामा कोरोना संक्रमण देखिएको नेपालसमयलाई जानकारी दिए। यसबारेमा प्रदेश जनस्वास्थ्य निर्देशक डा. बिनोद विन्दु शर्मा सम्पर्कमा आउन चाहेनन्।
‘पाटापाटा मिलेको गाउँ छ, यहाँ एउटा माध्यमिक स्कुल पनि छ, यही गाउँका ६४ जनालाई कोरोना देखिएको छ।’ पाण्डेले भने। उनका अनुसार ११ वर्ष देखि ६० वर्ष उमेरसम्मका व्यक्तिलाई कोरोना देखिएको छ।
‘उनीहरु सबै आफ्नै आफ्नै घरमा आइसोलेसनमा छन्, बाहिर निस्कन दिइएको छैन,’ पाण्डेले भने, ‘सामान्य ज्वरो र रुघाखोकी छ, तातोपानी खाएर बसेका छन्।’
पाण्डेले उनीहरुको निगरानी गर्न प्रहरी र गाउँपालिकाका मानिसहरु खटाइएको बताए। गम्भीर समस्या देखिएमा अस्पताल लैजान एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।
सो वडाको क्यामुनटार गाउँका बासिन्दाको दुई पटकसम्म पोखरामा स्वाब परीक्षण गरिएको थियो। पहिलो पटकको परीक्षणमा ३१ र दोस्रो पटकको परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो। दुईपटक गरेर १ सय ७३ जनाको स्वाब परीक्षण गरिएको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ९३४ जना व्यक्ति कोरोना संक्रमित छन्। तीमध्ये ९४ जना सक्रिय संक्रमित छन्। कोभिड–१९ का कारण गोरखामा १२ जनाले ज्यान गुमाएका छन्।
