विराटनगर- स्थानीय प्रशासनले विराटनगरमा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण दैनिक १ सय भन्दा बढीको संख्यामा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट लागू हुने गरी निषेध आदेश जारी गरेको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा निषेध आदेश जारी गरेका हुन्। कटहरीका वडा नम्बर १,२,३ र ४ मा मात्र निषेध आदेश जारी गरिएको छ। अन्य पालिकाहरूमा सङक्रमण दर कम भएका कारण निषेधाज्ञाको निर्णय नभएको उनले बताए।
शुक्रबार बसेको डीसीसीएमसी बैठकले निषेध आदेश जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक वस्तु बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको उनले बताए। सवारी साधनलाई पूर्ण रुपमा अवातजावत गर्न रोक लगाइने बताउँदै उनले दैनिक उपभोग्य वस्तुका पसल विहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको बताए।
विराटनगरमा करिब ९ सय सक्रिय संक्रमित छन्।

