धनगढी- सुदूरपश्चिमका २ कोभिड अस्पतालमा थप ५ जना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा तीन जना र महाकाली अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको हो।
सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिला, लम्कीचुहा नगरपालिका ४३ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। यस्तै १५ गते अस्पतालमा भर्ना भएकी लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय महिलाको पनि मृत्यु भएको हो।
तीनै जना संक्रमित मृतकलाई मृत्यु अघि निमोनिया भएको श्रेष्ठले बताए।
महाकाली अस्पतालमा मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिकाकी ५० वर्षीया महिला छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए।
