सुर्खेत- सुर्खेतमा निषेध आदेश उल्लंघन गर्ने १५ सयभन्दा बढी कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार १ हजार १५ जना, बिहीबार ४३० जना र शुक्रबार दिउँसोसम्म ९३ जना कारबाहीमा परेका छन्।
निषेध आदेश उल्लंघन गर्नेहरुमा महिलाभन्दा पुरुषको संख्या बढी छ। प्रहरीका अनुसार बुधबार २२२ जना महिला र ७९३ जना पुरुष, बिहीबार १२४ महिला र ३०६ पुरुषले निषेध आदेश उल्लंघन गरेका हुन्।
शुक्रबार कारबाहीमा परेकामध्ये पुरुष नै बढी छन्। त्यस्तै अटेरी गर्ने ८ जनालाई भने प्रतिव्यक्ति ३०० का दरले जरिवाना तिराइएको छ।
त्यस्तै ५३ वटा सवारी साधानलाई कारबाहीमा परेका छन्। कारवाहीमा परेका सवारी साधन र निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिबाट गरी कुल १८ हजार ४०० रुपैयाँ राजश्व संकलन भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए। कोरोना संक्रमण उच्च भएपछि १५ गतेदेखि सुर्खेतमा एक हप्ता निषेध आदेश छ।
