काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपिल जारी गर्दै अस्पतालमा कोरोना संक्रमितका लागि बेड उपलब्ध गराउन नसकिने जानकारी दियो। उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको मन्त्रालयले बताएको छ।
मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ।’
कोरोना संक्रमितको उपचारमा सरकारले हात उठाएको भन्दै विज्ञहरुले चर्को विरोध गरेका छन्। जनस्वास्थ्यका विज्ञ डा. बाबुराम मरासिनी भन्छन्, ‘सरकारले यति छिट्टै यस्तो अव्यवहारिक निर्णय गर्न हुँदैन। जिम्मेवारीबाट पन्छिन मिल्दैन सरकार। अनुभव र परिपक्वताको कमी देखियो। मन्त्रालयले यस्तो सूचना निकाल्नु नै गलत हो।
डा. मरासिनीले थपे, ‘सरकारले चाँडो बेड थप गर्नुपर्छ। खाली ठाउँमा टहरा बनाएर भए पनि बिरामीलाई भर्ना गर्नुपर्छ। व्यवस्थापन गर्ने प्रशस्त समय हुँदा राजनीतिमा अल्झियो, अहिले जनतालाई मानसिक त्रासमा पार्न मिल्दैन। सरकारले जनातामा मानसिक आतंक गर्न खोजेको हो।’
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आजको सूचना जनतालाई त्रसित बनाउन नै प्रकाशित गरिएको हो। मानिसले लापरबाही गर्न थालेपछि बाध्य भएर मन्त्रालयले सूचना जारी गरेको ती अधिकारीले बताए।
‘सरकारले हात उठाएको होइन तर आम जनताले जनस्वास्थ्यका मापदण्ड नमानेपछि यसले ठूलो क्षति हुने सम्भावना देखेर जनतालाई त्रसित बनाएको मात्रै हो। मन्त्रालयले अस्पतालमा बेडको व्यवस्थापन गरिरहेको छ,’ उनले भने।
