काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको पेटमा रहेको न्युरो इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
पत्नी हिसिला यामीले ट्वीटरमार्फत सफल शल्यक्रिया भएको जानकारी दिएकी छन्।
काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गरेको हो। भट्टराई बिहीबार नै वीर अस्पताल भर्ना भएका थिए।
यामीले उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिएकी छन्। ट्युमरमा क्यान्सरको शंका भएपछि भट्टराई परीक्षणका लागि भारतको राजधानी दिल्ली पुगेर जाँच गरेका थिए।
चिकित्सकहरूले क्यान्सर नभएको प्रमाणित गरेपछि भट्टराईले यसपटक सरकारी अस्पतालमा नै शल्यक्रिया गर्ने निर्णय गरेका हुन्।
