काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम कम गर्नका लागि सरकार पूर्ण रूपमा असंवेदनशील भएको आरोप लगाएको छ।
शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी सभापति शेरबहादुर देउवाले यस्तो आरोप लगाएका हुन्।
‘आइसियू र भेन्टिलेटर बेड अभाव देखिएका कारण कोरोनाको जोखिम कम गर्न सरकरारको असंवेनशीलता र चरम लापरबाही भएको प्रष्ट भएको छ,’ पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने।
संक्रमित हुनेको संख्या दिनानुदिन बढेको भन्दै सभापति देउवाले देशका स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्था आउँदा पनि सरकार उदासीन भएको उल्लेख गरे।
सरकारले कोरोनाको जोखिम हुँदाहुँदै पनि अधुरा कामहरूलाई पूरा भएको भन्दै उद्धाटन गरी भिडभाड जम्मा गरेको सभापति देउवाको टिप्पणी छ।
‘उपत्यका लगायतका स्थानमा लकडाउन जारी गर्ने निर्णय गरेपछि उपत्यका छोड्नेहरूको लर्कोले व्यापक संक्रमण फैलने खतरा छ,’ देउवाको भनाई छ, ‘उनीहरूको सुरक्षित प्रबन्ध गरिनुपर्छ।‘