काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ जित्नुपर्ने बताएका छन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए।
‘म नागरिकलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरहेकोे छ। त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ। हामी आफै जवाफदेही र जवाफदेही भएर अगाडि बढ्न जरुरी छ,’ उनले भने।
सरकारले १३ गतेको मन्त्रिपरिषद् बैठकबाट नयाँ भेरिएन्टसहितको कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी उनले दिए। राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको उनले बताए।
‘कोभिडको जुन लहर छ, यसलाई फैलन नदिने मुख्य कुरा हो। यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,’ उनले भने,‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं। जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ। जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ।’
उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए।
यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको पोखरेलको भनाइ छ। १८ लाखभन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए।