पोखरा– गण्डकी प्रदेशमा जारी गतिरोध अन्त्य गर्न पोखराको नागरिक समाजले माग गरेको छ। आज विज्ञप्ति प्रकाशित गरी समाजले यस्तो माग गरेको हो। विज्ञप्तिमा प्रदेशमा घटेका परिघटनाहरुको निष्पक्ष छानबि गरी संसदको अवरोध हटाउन माग गरिएको छ।
‘यस्ता अशोभनीय घटनाहरुको अन्त्य गर्दै सभ्य सुसंस्कृत प्रदेशको रुपमा विकास गर्न सम्पूर्ण माननीयहरुमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यही वैशाख १३ गतेदेखि बोलाइएको गण्डकी प्रदेशको विषेश अधिवेशन गत मंगलबार अनिश्चितकालका लागि स्थगित भएको थियो। सभामुख नेत्रनाथ अधिकारीको निर्देशनमा प्रदेश सभाका सचिव हरिराज पोखरेलले सूचना टाँस गरेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै विषेश अधिवेशनको तेस्रो बैठक स्थगन गरेका थिए।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सांसद खिमविक्रम शाही एक्कासि हराएपछि सोही दलकी सचेतक पियारी थापाको मागका आधारमा संसद बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।