सुर्खेत - नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने भएका छन्।
प्रदेशमा कोरोना नियन्त्रण, रोकथाम, उपचार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सांसदहरूले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
माओवादी संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले आधा महिनाको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन्।
बैठकमा मुख्यमन्त्री शाहीले समसामयिक राजनीतिक परिस्थितिमा दलले खेल्नुपर्ने भूमिका, कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले गरेको गतिविधि, विकास निर्माण र चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए।
यस्तै दलको बैठकले सबै सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारमा निकाय, स्थानीय तह, अन्य राजनीतिक दल लगायतसँग समन्वय गरी कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवम् अनुगमन गर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेशसभामा माओवादीबाट १२ जना सांसदहरू छन्। सांसदहरू पारिश्रमिकबापत् मासिक ४५ हजार रूपैयाँ लिन्छन्। बिहीबार मात्रै कर्णाली प्रदेश सरकारले एक अर्ब कोरोना कोष बनाउने घोषणा गरेको छ।