जसले जसरी विश्लेषण र जोडघटाउ गरे पनि अहिले गण्डकी प्रदेशमा दुवै पक्षलाई चाहिने भनेको त्यही एक भोट हो, जुन भोटले मौजुदा सरकार र विपक्षी दलहरूको राजनीतिक भविष्य बोकेर बसेको छ।
पोखरा - गत बुधबारदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही राहत महसुस गरेका छन्।
प्रदेश सभामा आफूविरुद्ध पेस भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने भनिएका दुई सांसद अचानक गायब भएपछि केही दिनका लागि गुरुङको सत्ता बहिर्गमन हुने खट्काे त टरेको छ, तर अंकगणितीय खेलमा भने अझै उनीमाथि खतराको बादल हटिसकेको छैन।
आफूमाथि आउने अविश्वासको प्रस्ताव असफल बनाउन उनी ठूलै कसरत गरिरहेका छन्। यही कसरतस्वरुप उनले बिहीबार मनाङका स्वतन्त्र सांसद दीपक मनाङेलाई खेलकुदमन्त्री बनाए।
अविश्वास प्रस्तावको विपक्षमा एक मत सुनिश्चत गरे। तर, अचानक बिरामी भएका जनमोर्चाका सांसद खिमविक्रम शाही अझै पनि चरकमा उपचाररत छन्। उनी कहिले निको हुन्छन् भन्ने अस्पतालले केही जानकारी दिएको छैन।
दीपकलाई मन्त्री बनाउने थाहा पाएपछि विपक्षी दलमा शंका पैदा भयो- अब आफ्नो पक्षको एक मत पनि मुख्यमन्त्री गुरुङले चोर्नेछन्। त्यसैले उनीहरूले बिहीबार नै विज्ञप्ति निकालेर आफ्ना सांसदको जीवनरक्षाको माग गरेका छन्।
अब गण्डकी प्रदेश सांसदले बिजनेस पायो र अविश्वासको प्रस्तावको कारबाही अगाडि बढ्यो भने मुख्यमन्त्री गुरुङले २९ मत पाउने छन्, जुन मतले उनको सरकार जोगिने छैन।
उता विपक्षी दल भने आफ्नो पक्षमा रहेको ३१ मत सुरक्षित रहेकाले सरकार ढल्नेमा ढुक्क छन्।
यसर्थमा दुवै पक्षलाई त्यो एक भोट अमूल्य छ। त्यसो त मुख्यमन्त्री गुरुङ के कुरामा आशावादी छन् भने एक मत जसरी भए पनि चोर्न सकिन्छ। एकजना सांसदलाई फ्लोर क्रस गराउन सकिएमा उनको सरकार जोगिने छ।
खासमा मुख्यमन्त्री गुरुङलाई चाहिएको एक मत हो, जसले उनको पक्षमा ३० मत पर्छ र सरकार जोगिन्छ। अर्कोतर्फ उनलाई आफ्नै पार्टीका सांसद ईन्द्रलाल सापकोटामाथि शंका छ।
माधव नेपाल पक्षमा खुलेर लागेका कारण उनले फ्लोर क्रस गर्न सक्ने आशंका गुरुङको छ। तर, सापकोटाले भने आफूले फ्लाेर क्रस नगर्ने घोषणा गरिसकेका छन्। तर, राजनीतिमा कतिबेला के हुन्छ अनुमान गर्न सकिन्न।
अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची संसद सचिवालयले टाँस गरेपछि दुई सांसद गायब होलान् भन्ने पनि अनुमान थिएन। त्यसैले अबको संसद् बैठकमा पनि के हुन्छ भन्ने अनुमान लगाउन गाह्राे छ।
आईसीयूमा रहेका जनमोर्चाका सांसद खीमविक्रम शाही वा मुख्यमन्त्रीविरुद्ध आफ्नै पार्टीका ईन्द्रलाल सापकोटाले फ्लोर क्रस गर्लान् ? भन्ने अनुमान गर्न कठिन छ। तर, एमालेका एक सांसदले भने दीपक मनाङेको मत सुनिश्चित भएकाले एक मत अन्य पार्टीबाट ल्याउन कुनै समस्या नरहेको दाबी गर्छन्। त्यसो त मनाङेको पनि विश्वास छैन किनकि उनले मन्त्रीको शपथ ग्रहण लगत्तै यो सरकारको आयु धेरै नभएको बताएका छन्। उनी अर्को सरकारमा पनि मन्त्री हुने छनक देखाइसकेको विपक्षी सांसदहरूको बुझाइ छ।
विपक्षी दलका एक सांसद भन्छन्, ‘मुख्यमन्त्रीले नै मनाङेलाई मन्त्री बनाएपछि हामीले पनि उनलाई मन्त्री बनाउने बाटो खोलिदिएका छाैं, त्यसैले मनाङेको मत अविश्वास प्रस्तावको पक्षमा आउँछ।’
जसले जसरी विश्लेषण र जोडघटाउ गरे पनि अहिले गण्डकी प्रदेशमा दुवै पक्षलाई चाहिने भनेको त्यही एक भोट हो, जुन भोटले मौजुदा सरकार र विपक्षी दलहरूको राजनीतिक भविष्य बोकेर बसेको छ।
अबको कसरत भनेको सत्तापक्षलाई एक भोट चोर्नु र प्रतिपक्षलाई एक भोट जोगाउनु हुनेछ। किनकि गण्डकी प्रदेश सरकारको साँचो त्यही एक भोटमा गएर अड्किएको छ।