शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्मृतिमा इरफान खान : केही यस्ता किस्सा जहाँ उनी बाँचिरहेका छन् 

स्मृतिमा इरफान खान : केही यस्ता किस्सा जहाँ उनी बाँचिरहेका छन् 

इरफानले सफलताको उचाइ त चुमे तर जब त्यसलाई ‘सेलिब्रेट’ गर्ने समय आएन। न्यूरो इन्डोक्राइन ट्युमरसँगको युद्ध लड्दालड्दै उनले रंगमञ्चबाट पर्दा हटाए। बुधबार इरफान बितेको एक वर्ष पुगेछ। खानको पहिलो पुण्यतिथिमा उनका चार प्रिय मित्रले उनीसँग जोडिएका रोचक किस्सा यसरी सुनाएका छन्: 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

राजेश गाबा


‘संसार खुब शोखसँग सुनिरहेको थियो, म चाहिँ कथा कहँदाकहँदै सुतिगएँ,’ साकिब लखनवीको यो पंक्ति अभिनेता इरफान खानको जिन्दगीमा ठ्याक्कै मेल खान्छ। जयपुरको गल्लीदेखि नेसनल स्कुल अफ ड्रामासँगको यात्रा। त्यसपछि मायानगरी मुम्बइको संंघर्ष। टिभी सिरियल हुँदै बलिउड। बलिउड हुँदै हलिउडसम्मको पहिचान।

इरफानले सफलताको उचाइ त चुमे तर जब त्यसलाई ‘सेलिब्रेट’ गर्ने समय आएन। न्यूरो इन्डोक्राइन ट्युमरसँगको युद्ध लड्दालड्दै उनले रंगमञ्चबाट पर्दा हटाए। बुधबार इरफान बितेको एक वर्ष पुगेछ। खानको पहिलो पुण्यतिथिमा उनका चार प्रिय मित्रले उनीसँग जोडिएका रोचक किस्सा यसरी सुनाएका छन्: 

टिभी स्टेसनमा कलाकार भेटिन्छन् भन्ने सोचेर पहाड चढे : हैदर अली (जयपुर)
डिआइजी इन्टेलिजेन्स 

म बच्चैदेखि इरफानलाई चिन्छु। हाम्रो बाल्यकाल एकसाथ बितेको थियो। सुभाष चोकमा हामी छिमेकी थियौँ। उ सेन्ट पाल स्कुलमा पढ्थ्यो, म सेन्ट जेभियर्समा। हामी दुवै सँगै स्कुल त जाँदैनथ्यौँ, तर स्कुलबाहेकका समय सँगै गुर्जार्थ्यौं।

राजस्थान कलेजमा हामी सँगै पढ्थ्यौैँ। म इकोनोमिक्स डिपार्टमेन्टमा थिएँ, इरफान उर्दू। उर्दू डिपोर्टमेन्टको प्रमुख मेरो बुबा हुनुहुन्थ्यो। पछि उसलाई थिएटरमा रुचि जाग्यो। हाम्रै साथी अनुप चर्तुर्वेदीसँग मिलेर उसले थिएटर सुरु गर्‍यो। त्यसपछि दिल्ली एनएसडी गयो। र, त्यहाँबाट मुम्बईको रेल। जब उ नेशनल स्कुल अफ ड्रामाका लागि छनोट भयो, त्यो रात ऊ मलाई उठाउन २ बजे आएको थियो। भनेको थियो, ‘बिहान ५ बजे जाँदैछु। तसँग मिल्नलाई मन गर्‍यो, त्यसैले आएँ। जयपुरले मलाई छाड्दैछ, म जाँदैछु।’ उसलाई सायद लागिरहेको थियो, ऊ हुर्किएको ठाउँ उबाट टाढिदैछ। 

इरफान निकै ‘इन्टेन्स पर्सन’ थियो। जब ऊ जयपुर आउँथ्यो, हामी एकसाथ चंगा उडाउँथ्यो। चंंगा उडाउन खब रुचाउँथ्यो। एकपटक चंगा उडाउँदा–उडाउँदै लड्यो र दाहिने हात 'फ्याक्चर' भयो। त्यही हातले ‘फास्ट बलिङ’ गर्न थाल्यो। जोकोही उसको बलबाट आउट हुन्थ्यो। उसको हड्डी बाङ्गो भइसकेको थियो। राति पान खाने, अनि सुनसान सडकमा घुम्ने हाम्रो बानी भइसकेको थियो। 

कसैले नचिनोस् भनेर ऊ टाउकोमा 'क्याप' लगाउँथ्यो। पछिल्लो पल्ट जब ऊ आएको थियो, हामी पुष्कर गएका थियौँ। हामीले त्यहाँ जग्गा हेरेका थियौँ। उसलाई त्यहाँ एउटा फार्महाउस बनाउने रहर थियो। 

जतिबेला हामी स्कुलमा थियौँ, त्यतिबेला नाहरगढमा टिभी स्टेसन छ, त्यहाँबाट टेलिकास्ट हुन्छ भन्ने थाहा भयो। इरफानलाई लाग्यो, त्यहाँ एक्टर–एक्ट्रेस होलान्। हामी चुपचाप पहाड चढेर त्यहाँ पुग्यौँ। तर, त्यहाँ कोही पनि थिएन। बच्चैदेखि उसमा हिरो–हिरोइनको मोह थियो। आमासँग उसको गहिरो आत्मीयता थियो। आमा कडा हुनुहुन्थ्यो। भन्नुहुन्थ्यो– ‘हैदर मिया, इरफानलाई सम्झाऊ, यो कहाँ गइरहेको छ। यसलाई अभिनय–सभिनयको भूत छाडेर यतै बस्न भन।’

इरफानको घर बाहिर एउटा धोबी बस्थ्यो। एक दिन ९ बजे राति जब हामी घर पुगेका थियौँ, ती धोबी रक्सीले लठ्ठीएर नालीमा लाडिरहेका थिए। उसको हातमा घडी थियो, जो अड्किरहेको थियो। इरफानले त्यो देख्यो र भन्यो– ‘यो घडी झर्छ, यसलाई निकाल्छु। भोलि फिर्ता दिउँला, नत्र झरेर बिग्रिन सक्छ।’ इरफानले निकै प्रयास गर्‍यो तर धोबीले घडी उतार्न दिएनन्। उल्टै मुख छाड्न थाल्यो। पछि यही कुरामा हामी खुब हाँसेका थियौँ। 

इरफानको बुबासँग एउटा पुरानो ‘विली स्टाइल’को जीप थियो। हामी निकै साना थियौँ। बुबाले हामी सबैलाई कारमा घुमाउन लान्थे। उनी थोरै डीजेललाई माथि राखेर जीप चलाउँथे। तर केरोसिनले मोडिफाइ गरिएको थियो। उनी मेकानिक कम, इन्जिनियर ज्यादा थिए। इरफान भन्थ्यो– ‘हेर, ‘अब्बू’ जीपलाई मुर्ख बनाइरहेका छन्।’ बाबासँग निकै नजिक थियो उ। बुबालाई ऊ ‘अब्बू जी’ भन्थ्यो। त्यसैले बुबाको मृत्युपछि ऊ निकै दुःखी भएको थियो।

जब मैले उसको फिल्म ‘मकबूल’ हेरेको थिइनँ त्यतिबेला उसले मलाई फिल्म नहेर्दासम्म लगातार फोन गरेर सोधेको थियो। भाउजूलाई फिल्म कस्तो लाग्यो? मेरो काम कस्तो लाग्यो? भन्दै सोध्थ्यो। एमबीबीएस गरेको मेरो छोरासँग पनि कुरा गर्थ्यो। खासमा इरफान आफ्नो कुरा कहिल्यै गर्दैनथ्यो, खाली अरुको सुन्थ्यो, अनि तारिफ गर्थ्यो। 

जब २०१८ मा लन्डनमा उपचार गराइरहेको थियो, त्यतिबेला म उसलाई भेट्न गएको थिएँ। देख्नेबित्तिकै अंकमाल गरेको थियो। र, भनेको थियो– हेर, तँ मुम्बई आउँदैन थिइस्, त्यसैले आज तँलाई लन्डन बोलाएँ। उसले हस्पिटलकै छेउमा फ्ल्याट राखेको थियो। त्यहाँ ऊ टेनिस खेल्थ्यो, साइकिलिङ गर्थ्यो। उसले खाना बनायो, भाँडाकुँडा पनि आफैँ धोयो। उसलाई देखेर कसैले पनि ऊ यति ठूलो रोगसँग लडिरहेको छ भनेर सोच्दैनथ्यो। साँच्चै फाइटर थियो ऊ।

तँ बगाली होस्, सुतपासँग मेरा कुरा गरिदिए : अलोक चटर्जी
इरफान र म नेसनल स्कुल अफ ड्रामामा सन् १९८४ देखि ८७ सम्म सँगै पढेका थियौँ। हामीले ३ वर्ष हरेक नाटकमा लिड रोल गर्‍यौँ। अभिनयलाई लिएर इरफान निकै गम्भीर थियो। कम बोल्थ्यो, साथीहरुबीच लोकप्रिय थियो र हसाउनमा माहिर।

एनएसडीमा इन्टरभ्यूको दौरान उसले भनेको थियो– ‘एफटीआईआई (फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया) मा अहिले एक्टिङको कोर्स छैन, त्यसैले म एनएसडी आएको हुँ। किनकी मलाई सिनेमाको अभिनेता बन्नु छ। सिनेमाको पनि यस्तो अभिनेता बन्नु छु, जसको अभिनय देखेर निर्देशक स्वयम् नजिक आओस्।’ यो उसको सपना थियो र जीवनको दौडमा उसले यो हासिल पनि गर्‍यो।

एनएसडीमा छनोटको नतिजा हेर्दाताकाको समय म अझै सम्झन्छु। इरफान पछाडी उभिएको थियो। मैले सोधेको थिएँ– ‘तिमी कुन ‘डारमेट्री’ हो?’ उसले भनेको थियो – ‘म ५ नम्बर ‘डारमेट्री’मा हो। ’ उसले मलाई सोधेको थियो– ‘के तिमी मुस्लिम हो?’ जवाफमा मैले सोधेको थियो– ‘के तिमी बंगाली हो?’ जवाफमा उसले भनेको थियो–‘होइन, म मुस्लिम हुँ।’ त्यसपछि मैले भनेको थिएँ– ‘म बंगाली हुँ।’ एनएसडीमा यो हाम्रो पहिलो कुराकानी थियो। एनएसडीमा हामी एकसाथ सँगै भयौँ। त्यसपछि पनि हाम्रो सम्पर्क भइरह्यो।

सन् २००५ मा जतिखेर म मुम्बईमा अनुपम खेर सरको घरमा गएको थिएँ, त्यतिबेला म उसलाई भेट्न पनि गएको थिएँ। त्यतिबेला ऊ एकदमै ठूलो स्टार बनिसकेको थियो, तर हामी भेट्यौँ उसैगरी जसरी एनएसडीका दिनहरुमा भेट्थ्यौँ। उसको उस्तै सादगीपन मलाई त्यतिबेला महसुस भयो जतिबेला मैले सिगरेट पिएँ, उसले बिँडी। सँगै चिया पियौँ, बदाम खायौँ।

म उसको श्रीमती (सुतामा सिकदर)लाई राम्रोसँग चिन्दछु। र, उनी पनि मेरो श्रीमतीलाई राम्रोसँग चिन्दछिन्। किनकि हामी दुवैको प्रेम सम्बन्ध एकैसमयमा चलेको थियो। म एक किसिमले इरफानको दूत थिएँ। इरफानको लभ म्यारिजको प्रस्ताव लिएर म नै सुतापाकहाँ पुगेको थिएँ। म पनि बंगाली थिएँ र सुतापा पनि। त्यसले इरफानले मसँग भनेको थियो– तिमी नै भरोसा गर्न लायक व्यक्ति हो, जाऊ गएर कुरा गर।’

जब म उसको म्यासेज लिएर पुगेँ, त्यतिबेला सुतापाले सोधिन्, ‘आलोक, तिमी किन आयौँ? ऊ डराउँछ हो?’ जवाफमा मैले भनेँ, ‘हैन, ऊ असल केटा हो। मात्रै मुस्लिम हो र तिमी बंगाली।’ 

त्यसपछि सुतापाले भनिन्, ‘हामी कलाकार हौँ। हाम्रो कुनै धर्म हुँदैन। कला हाम्रो इमान हो।’ यही कुरा लिएर म इरफानकहाँ पुगे। त्यसपछि दुवैवीच मित्रता भयो र सुस्तसुस्त प्रेम। जबकी उनीहरुले एनएसडीमा निक्लिएको चार वर्षपछि बिहे गरे। सायद १९९१–९२ तिर हो कि ! यसको कारण सायद मुम्बईको संघर्ष थियो। उ सबैसँग भन्थ्यो– आलोक मेरो लागि हनुमानजस्तै दुत बन्यो, हनुमान रामको सन्देश लिएर सीताकहाँ पुगेका थिए र आलोक मेरो सन्देश लिएर सुतपाकहाँ पुगे। 

'जब गोही बनेर सुतेका थिए इरफान'
आलोक कक्षाको एक किस्सा कहिल्यै बिर्सन्नन्। सम्झिन्छन्, ‘मोहन महर्षि हाम्रो टिचर र डिरेक्टर थिए। एक दिन ‘रियालिस्टिक क्लास’मा उनले हामीसँग कुनै एक जनावरजस्तो महसुस गरेर अभिनय गर्न भने। त्यतिबेला कोही कुकुर बने, कोही बिरालो। इरफान पेटमुनि सुत्यो। त्यतिबेला मोहन सरले साधे– तिमी कुन जनावर बनेको? जवाफमा इरफानले भन्यो– ‘सर, म गोही। उ धुप सेकिरहेको छ। ’ हामी सबै हाँस्यौँ। सर पनि हाँसे। उ देखिँदाखेरी शान्त थियो तर उभित्र गज्जबको ‘सेन्स अफ ह्यूमर’ थियो।’ 

अर्को एक दिन मोहन महर्षि सरले सबैलाई एकएकवटा ‘रियालिस्टिक’ काम गर्न लगाए। इरफानले एउटा मजदुरको क्यारेक्टर लियो। उसले एउटा बोरा उठायो, घुमघाम गर्‍यो र आएर बस्यो। सरले सोधे– के बन्यौँ? के गरिरहेका छौँ? जवाफमा उसले भन्यो– ‘मजदुर हुँ। भारी बोरा उठाएर ल्याएको छु। थोकेको छु, बीडी पिउँछु।’ त्यसपछि उ बीडी पिउन थाल्यो। 

एक दिन इरफान रिसाएको मेडिटेसन अभ्यास गरिरहेको थियो। होलिको दिन थियो त्यो। सबैले चिसो पिए र उसलाई पनि पिलाए। त्यतिबेला उ बोल्यो– ‘मलाई रिस उठिरहेको छैन, मलाई हाँस किन उठिरहेको छ?’ चिसो पिएर रिस कहाँ उठ्छ र !

इरफानले सुरुवातमा मुम्बईमा खुब संघर्ष गर्‍यो। ६ घन्टा कल सेन्टरमा जागिर गर्‍यो, बाँकी समय स्टुडियो चहार्‍यो। सुरुमा ‘डिस्कवरी अफ इन्डिया’ सिरियलबाट ब्रेक मिल्यो। त्यसको ८ वर्षपछि टेलिभिजनको सबैभन्दा पपुलर स्टार बन्यो। त्यसपछि उसलाई पहिलो फिल्म मिल्यो। करिब ४२ वर्षको उमेरमा उ सिनेमामा आयो। तर जब आयो, त्यसपछि अमिताभ बच्चदेखि टम हंक्ससम्मको एक्टरसँग काम गर्ने गरि आयो। 

उ सुरुदेखि नै नसीरुद्धीन शाहलाई खुब मान्थ्यो। ऊ भन्थ्यो, ‘फिल्ममा जुन रियालिस्टिक एक्टिङ हुन्छ, त्यो नसीर सरले गर्नुहुन्छ। राम्रो रोल मिल्यो भने मान्छे सफल हुन सक्छ।’ ‘पान सिंह तोमर’ मा उसको सर्वश्रेष्ठ अभिनय छ। त्यो क्यारेक्टरलाई उसले निभाएकामात्रै थिएनन्, बाँचेकै थिए। साँच्चै उ किंग थियो।

अमिताभसँगको झगडाको किस्सा
इरफान खानका को–स्टार र फिल्म ‘पीकु’मा बुद्धन (अमिताभ बच्चनका कामदार) को भूमिका निभाएका अभिनेता बालेन्द्र सिंह भन्छन्, ‘सुटिङमा इरफान आफ्नो स्क्रिप्ट पाउनेवित्तिकै सोच्ने थाल्थेँ। उनी कुनामा गएर सिगरेट पिउँदै पात्रलाई परिष्कृत गर्नतिर लाग्थे। त्यो क्यारेक्टरलाई कसरी बाँच्ने? खुब सोच्थेँ। सोच्दासोच्दै कहिले भुईमा बसिरहेका हुन्थे, कहिले गाडीको छेउमा। साँच्चै निकै कम बोल्थे तर ज्यादा सोच्थे उनी। ’

सबैभन्दा रोचक यो थियो कि जब हामी केही सिनको रिहर्सल गथ्र्यो, निकै हसिमजाकमा सुटिङ नै भइसक्थ्यो। किनकी हर प्रहर हामी चारैजना कलाकार थियौँ। कलकत्ता जाँदाखेरी बाटोमा चक्कु हान्नेवाला दृश्यलाई परिष्कृत (इम्प्रोभाइज) गर्नुपर्ने थियो। यसमा डायलग थिएन। मात्रै इरफान र अमिताभबीच झगडा गर्नुपर्ने परिस्थिती बताइएको थियो। दुवैले रिहर्सल थाले। ‘ए अंकल, अंकल नहीँ, भाई साहब, भाई साहब नहीं।’ 

त्यतिबेला इरफानले सोधे– ‘क्या बोलूं आपको।’

त्यसपछि अमितजी बोले, ‘अरे कुछ भी बोलो, जब तक वो कट नही बोलेंगे। हम खेलते रहेंगे।’ 

त्यसपछि जबसम्म कट भनिएन, अमिताभ, इरफान र दीपाकाले सिनलाई ‘इम्प्रोभाइज’ गरिरहे। म कारमा बसेर सुनिरहेँ। पछि कट सुन्नासाथ हामी सबै खुशी भयौँ। 

‘मलाई अझै गुन्डा चाहिन्छ, पैसा त लिनैपर्छ’
जयपुरमा इरफानको साथी र ‘पानसिंह तोमर’मा उनको भाइ मातादीन सिंहको क्यारेक्टर निभाएका अभिनेता इमरान हसनी भन्छन्, ‘हाम्रा अग्रज र इरफानका अग्रज जयपुरमा एकै ठाउँका थिए। त्यसैले जयपुरमा हाम्रो पहिलेदेखि नै दोस्ती थियो। मुम्बई आएपछि हामीबीच भेटघाट बाक्लियो। त्यसपछि हामी धेरैपल्ट इदको समय सँगै भयौँ।’

मलाई ‘पान सिंह तोमर’को सुटिङको एक वाक्य याद छ। हामीलाई देहरादुनमा आर्मी एरियामा सुटिङ गर्नु थियो। त्यहाँ अनुमति मिलेन। हामी तीन दिन त्यही बस्यौँ। एक दिन इरफानले भन्यो, ‘जाउ, नजिकै गाउँ घुमेर आउनुपर्छ। ’ म, इरफान केही व्यक्ति तीन किलोमिटर अगाडी पैदल घुम्यौँ। त्यहाँ पुग्नेवित्तिकै ‘लिक्विड गुड’ बनिरहेको थियो। त्यसको बास्ना आइरहेको थियो। 

जब गुड बनाउनेलाई हामी अर्कै शहरबाट आएको थाहा भयो, त्यसपछि उनले हामीलाई पाहुनासरह गुड खुवाए। निकै स्वादिष्ट थियो। पछि इरफानले सोध्यो– ‘कति पैसा भयो?’ जवाफमा साहुजीले भने– ‘हामी पाहुनासँग पैसा लिन सक्दैनौँ।’ 

त्यसपछि इरफानले आफूलाई अझै गुड लानुपर्ने भएकाले मूल्य बताउन भन्यो। तर, साहुजी मानेनन्। भने, ‘यो सम्झिनुस् कि तपाईले आफ्नो भाइको घरमा आएर खानुभयो।’ त्यसपछि इरफानले उनीसँग अंकमाल गर्‍यो। र, भन्यो, ‘यो हाम्रो हिन्दुस्तान हो र यो यहाँको संस्कार।’ त्यसपछि हामी तीन दिनसम्म लगातार त्यहाँ गइरह्यौँ र त्यसैगरी हाम्रो खुब सत्कार पनि भइरह्यो।

इरफानसँग अन्तिम भेट मुम्बईबाट हस्पिटल जानुअघि उनकै घरमा भएको थियो। बिरामीको दौरान उनी निकै सकारात्मक थिए। केही पनि डिप्रेशनवाला कुरा गर्दैन थिए। निकै चिन्तित थिए। उनको मुहारमा कुनै चमक थिएन। सधैँझै त्यसदिन पनि उनले मसँग् अंकमाल गरे, बाहिरसम्म छोड्न आए। त्यसपछि भनेका थिए, ‘जयपुर जाँदाखेरि सबैलाई मेरो सलाम भन्दिनु। खुदा हाफिज। ’

त्यसपछि जब उनी हस्पिटलमा थिए, त्यतिबेला एकपटक उनीसँग फोनमा कुरा भएको थियो। बाबिलले लाउड स्पिकर गरेर कुरा गराएको थियो। त्यतिबेला पनि उनले भनेका थिए, ‘भाइ, चिन्ता नगर। म ठीक छु। चाँडै आउँछु। त्यसपछि हामी सँगै चंगा उडाउन जयपुर जानुपर्छ। ’ तर, विडम्बना त्यसपछि हाम्रो भेट उनको दाहसंस्कारमा मात्रै भयो। 

(दैनिक भाष्करमा प्रकाशित यो सामग्री अनिल यादवले भावानुवाद गरेका हुन्।)

प्रकाशित: Apr 29, 2021| 15:55 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।