बुटवल- कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सुरु गरेको छ।
सैनामैना नगरपालिका-१ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पतालका सुरु गरिएको हो।
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले बिहीबार अस्पतालको शुभारम्भ गरे। उनले नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे। उनले जिल्ला प्रशासनले आजदेखि लागू गरेको निषेधाज्ञाको समेत पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर, एउटा एक्स-रे, तीनवटा प्यारामिटर थप भएमा ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कोभिड बिरामीका लागि यो अस्पतालले ठूलो राहत दिने बताए। अस्पतालमा ३ वटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।
अस्पतालमा एक जना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चार जना अनमी र एकजना अहेब रहेको नगरपालिकाले जनाएको छ।