काठमाडौं- बिहीबार देशभर मौसम बदली र हल्का वर्षा भएसँगै प्रि-मनसुन सक्रिय भएको छ। करिब एक महिनाअघि नै प्रि-मनसुन सुरु भए पनि सक्रिय नहुँदा वर्षा हुन सकेको थिएन।
चैतदेखि असार पहिलो सातासम्मको अवधिलाई प्रि-मनसुन मानिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि मुलुकभर मौसम बदली हुनुका साथै अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ। यो क्रम कम्तीमा पनि तीन दिनसम्म चल्ने महाशाखाको अनुमान छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण सबै प्रदेशका पहाडी क्षेत्रमा वर्षा भएको छ। पहाडी क्षेत्र तथा हिमाली र तराईका पनि अधिकांश स्थानमा हल्का र मध्यम वर्षा हुने भएसँगै प्रि-मनसुन सक्रिय हुँदै गएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली क्षेत्रमा साताभरि आंशिकदेखि सामान्य बदली रही साताको मध्य र अन्ततिर केही स्थानहरुमा हल्का वर्षा वा हिमपातको सम्भावना देखिन्छ। पहाडी क्षेत्रमा भने साताभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन। चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशभर अधिकतम र न्यूनतम तापक्रममा वृद्धि भइरहेकोले गर्मी बढ्ने भन्दै महाशाखाले त्यसबाट सिर्जना हुन सक्ने असरहरुबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।