काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको समर्थनमा स्वतन्त्र सांसदमा विजयी बनेका दीपक मनाङ मन्त्री बनेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका हुन्।
मन्त्रीमा नियुक्त भएका मनाङले पत्रकारहरूलाई छोटो प्रतिक्रिया पनि दिएका छन्। उनले आफूले युवा र खेलकुदका क्षेत्रमा पहिलेदेखि नै काम गरिआएकाले यही मन्त्रालय रोजेको प्रष्टीकरण दिए।
धेरै लामो समय पत्रकारको प्रश्न सामना नगरेका मन्त्री मनाङले छोटो समयमा नै ठट्यौली गर्न पनि भ्याए। पत्रकारहरूले मन्त्री बनेपछि कस्तो अनुभव भइराछ? भनेर गरेको प्रश्नमा उनले ठट्यौली मिसाइदिएका हुन्।
‘मलाई त निद्रा लागिरा’छ। सुत्न पाएको छैन क्या,’ हल्का हासोका साथमा ठट्टा गरिदिए मनाङेले।
उनले आफू मन्त्री बनेपछि गर्ने कामबारे योजना बनाइसकेको समेत उनको भनाइ थियो।
यसअघि मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने दिन मनाङे अनुपस्थित भइदिएर मुख्यमन्त्री गुरुङलाई सहयोग गरेका थिए। त्यही सहयोगको उपहारमा मनाङेले मन्त्री पद पाएका हुन्। उनले मन्त्री पदको सपथ पनि लिइसकेका छन्।
मनाङे मनाङ 'ख'बा निर्वाचित सांसद हुन्।