शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अचानक आईसीयूमा पुगेका खिमबिक्रमसँग देवकुमार ‘कनेक्सन’

अचानक आईसीयूमा पुगेका खिमबिक्रमसँग देवकुमार ‘कनेक्सन’

देवकुमार नेपाली उनै हुन् जसले प्रदेशसभाको उपनिर्वाचनमा शााहीलाई जिताउन बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ताका लागि पोखराबाट हेलिकोप्टर लिएर शेरमानको घरमा पुगेका थिए।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

पोखरा- जतिबेला जनमोर्चा सांसद खिमबिक्रम शाही चरक अस्पतालको आईसीयुमा भर्ना भएका थिए, त्यसको दुई घण्टाअगाडि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पोखरा आइपुगेका थिए।
पोखराको सिर्जनाचोकमा उनको आलिसान भवन छ। पोखरा आउनुको कारणबारे उनले सहकारीको काम बताइरहेका थिए।

एमाले नेतासमेत रहेका देवकुमार नेपाली उनै हुन् जसले प्रदेशसभाको उपनिर्वाचनमा खिमबिक्रम शाहीलाई जिताउन बागी उम्मेदवार शेरमान घर्तीको उम्मेदवारी फिर्ताका लागि पोखराबाट हेलिकोप्टर लिएर शेरमानको घरमा पुगेका थिए। देवकुमार सिर्जनाचोकस्थित ईमेज सहकारीका संस्थापक अध्यक्ष पनि हुन्। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बहुमत पुर्‍याउन एक सांसद नपुगेको र एक सांसद अस्पतालको आईसीयूमा रहेको समाचार बुधबार दिनभरजसो ‘भाइरल’ बन्यो।
समाचार र सामाजिक सञ्जालमा चर्को टिकाटिप्पणी भएपछि शाहीले बिहीबार विज्ञप्ति नै निकालेर पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको प्रष्ट्याएका छन्। उनले आफ्नो स्वास्थ्यमा पनि ‘क्रमिक सुधार भएको’ जनाएका छन्।

बुधबार अविश्वासको प्रस्तावमा मतदान गर्नुभन्दा ठ्याक्कै केही समयअघि शाही कसरी अचानक ‘बिरामी’ भए त ? धेरैले आ–आफ्ना अनुमान सुनाइरहेका छन्।

यस सम्बन्धमा दुई धारणा व्यक्त भएको पाइन्छ। कतिपयले उनी ‘बिक्रि’ भएको टिप्पणी गरेको छन् भने कतिपयले सत्तापक्षले नै उनलाई ‘अपहरण’ गरेको दाबी गरेका छन्। तर अनुमान गरिएका कुरा दुवै नभई चुनावको बेला नेपालीले लगाएको ‘गुनको बदला तिर्न’ शाहीले यसो गरेको अनुमान झनै बलियो बनेको छ।

खिमबिक्रमका बागी शेरमानकाे उम्मेदवारी फिर्ता

राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको २०७५ साल मंसिरमा मृत्यु भएपछि शाहीले गण्डकी प्रदेशसभा छिर्ने ‘अवसर’ पाएका हुन्। त्यसअघि स्थानीय तहको निर्वाचनमा उनी बागलुङकै निसीखोला गाउँपालिकामा पराजित भएका थिए। प्रदेशसभा सदस्य घर्तीको निधन भएपछि नेकपा र जनमोर्चाको तालमेलमा बागलुङ क्षेत्र नं. २ (ख) बाट शाही उपनिर्वाचन लडे।

गाउँपालिकामा पराजित उम्मेदवारलाई प्रदेशसभाको उम्मेदवार बनाउँदा तत्कालीन नेकपाका कार्यकर्ताले समेत निधार खुम्च्याएका थिए। देवकुमार नेपालीले ठूलै कसरत गरेर शाहीलाई उम्मेदवारमात्र होइन प्रदेशसभा सदस्य नै बनाए। 
शाहीको उम्मेदवारीमा बागी दिएका शेरमानको उम्मेदवारी फिर्ता लिन देवकुमार नेपालीले शेरमानलाई हेलिकोप्टर चढाएर बागलुङ लगेका थिए। यसरी उम्मेदवारी फिर्ता गराएर शाहीलाई जिताएका थिए। त्यसैबेला नेपालीको चर्चा ह्वात्तै बढेको थियो।

शाहीको बागी उम्मेदवार बनेका तत्कालीन नेकपाका नेता शेरमान घर्ती ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमारसँग पराजित भएका थिए। उनै देवकुमारले हेलिकोप्टर चढाएर वागलुङमा ल्याएर उम्मेदवारी फिर्ता लिएको घोषणा शेरमानलाई गराएपछि जनमोर्चाका खिमबिक्रम शाहीले नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनलाई २ हजार ९७ मत अन्तरले पराजित गरे।

शाहीलाई प्रदेशसभामा छिराउन ठूलै मेहनत गरेका देवकुमारले उनको चुनावी अभियानमा आर्थिक सहयोग पनि राम्रै गरेका थिए। ‘उसलाई जिताउन मैले तन, मन र धन सबै सहयोग गरेको हुँ।’ नेपाल समयसँगको कुराकानीका क्रममा उनले भने।

अहिले शाहीमार्फत् मुख्यमन्त्री गुरुङको कुर्सी जोगाउन उनले राम्रै चलखेल गरेको चर्चा प्रदेशमा चल्न थालेको छ। ‘गाउँपालिमामा हारेको मान्छेलाई प्रदेश सांसद बनाउन हरसम्भव उपाय गरेको व्यक्तिको गुन तिर्नुभएको हो खिमबिक्रम माननीयले।’ नेपाली कांग्रेस बागलुङका एक नेताले भने।

संसदमा उनी शालीन र सोझो सांसदका रुपमा चिनिन्थे। संसदीय ‘बिजनेस’ मा देखाएको सक्रियताले नै उनी ईमान्दार र सोझो जनप्रतिनिधि हुन् भन्ने प्रतीत हुन्थ्यो। बागलुङको राजनीतिमा चासो राख्नेहरुले पनि उनले देवकुमारको गुन तिर्न यसो गरेको विश्लेषण गर्न थालेका छन्। यद्यपि, जनमोर्चा सांसद शाहीले बिहीबार एउटा विज्ञप्ति जारी गरेर आफू पार्टी निर्णप्रति प्रतिबद्ध भएको बताइसकेका छन्। 

जनमोर्चाको युवा संगठनमा गाविसको नेतृत्व गर्दै बागलुङ उपाध्यक्षसमेत बनेका शाही अहिले जनमोर्चाको केन्द्रीय सदस्य हुन्। ०४० सालदेखि राजनीति गरेका उनी आफ्नो क्षेत्रमा पनि ईमान्दार कार्यकर्ताको रुपमा परिचित छन्।

देवकुमार भने खिमबिक्रमलाई रोक्न आफूले चलखेल गरेको भन्ने तर्कमा सहमत नभए पनि बिहीबार बिहान उनी पोखरा आउनु र लगत्तै खिमबिक्रम ‘बिरामी’ हुनुलाई संयोग मात्रै मान्न केही नेताहरु तयार छैनन्। स्वयम जनमोर्चा नेपालका गण्डकी प्रदेश संयोजक शंकर बरालले यसमा ठूलै चलखेल भएको बताएका छन्।

देवकुमार भने आफूले खिमबिक्रमलाई चुनावमा जिताइदिएको मात्रै भएका बताउँछन्। ‘मैले चुनावमा सहयोग गरेको हो, बाँकी उहाँको पार्टीको कुरा हो।’ उनले भने। 

तर नेकपा विभाजन भएपछि त्यसको असर प्रदेशमा देखिन थालेको छ। गत फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्युँताइदिएपछि अन्य जस्तै गण्डकी प्रदेशमा पनि मौजुदा सरकार धर्मराउन थाल्यो। 
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ के कुरामा ढुक्क थिए भने, माओवादीले समर्थन फिर्ता लिए पनि, जनमोचाले समर्थन कायमै राखेको सरकार जोगिन्छ।

सुरुमा जनमोर्चा मुख्यमन्त्रीप्रति लचिलो थियो। संसदीय दलका नेता कृष्ण थापाले गण्डकी प्रदेशमा यही सरकारलाई समर्थन गर्ने बताइरहेका थिए।

जनमोर्चाको बुटवल सम्मेलनपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर गण्डकीमा मुख्यमन्त्रीलाई समर्थन गर्न नसकिने जनाएपछि यहाँको राजनीतिले कोल्टे फेरेको हो। सांसद पियारी थापाले भने सुरुदेखि नै यो सरकारको विकल्पमा जानुपर्ने बताउँदै आएकी थिइन्।

जनमोर्चाको केन्द्रीय समिति बैठकले गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने सरकारमा नजाने निर्णय भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए।

तर मुख्यमन्त्रीले संसदको हिउँदे अधिवेशन नै अन्त्य गरिदिएपछि वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएर विपक्षी दलले विशेष अधिवेशनको पनि माग गरे। प्रदेश प्रमुखले १३ गतेका लागि विशेष अधिवेशन बोलाइदिए।
अधिवेशनको पहिलो दिन नै विपक्षी दलका प्रस्तावित मुख्यमन्त्री तथा कांगेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव संसदमा पेश गरे।

अविश्वास प्रस्तावमा बुधबार नै छलफल गर्ने र प्रस्तावलाई मतदानमा लैजाने कार्यसूची  बनेको थियो। छलफलमा नआउने तर मतदानमा आउने बाचा शाहीले गरेका थिए। 

तर मतदान हुने बेलासम्म पनि शाही नआएपछि अविश्वासको पक्षधरहरुमा खल्बली मच्चिएको थियो। पछि उनी अस्पतालमा भर्ना भएका खबरहरु सार्वजनिक भए। 

मंगलबार स्वाब संकलन गरेर कोरोना नेगेटिभ आएको रिपोर्ट सार्वजनिक भयो। पछि उही र उस्तै समयमा दुई थरी रिपोर्ट सार्वजनिक भएपछि थप आशंकाहरु फैलिएका हुन्।

प्रकाशित: Apr 29, 2021| 11:28 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।