काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको साँठगाँठले कम्युनिस्ट सत्ता हटाउने अवसर गुमेको बताएका छन्।
न्यूज एजेन्सीसँग कुरा गर्दै उनले कम्युनिस्ट विभाजित भएको बेला कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउने अवसर ओली–देउवाको साँठगाँठले गुमेको बताए हुन्। ‘कम्युनिस्ट पार्टी विभाजित छन्। अविश्वास्को प्रस्ता आएको बेला कांग्रेसले अवसर गुमायो। के हो भित्र साँठगाँठ, थाहा छैन,’ उनले भनेका छन्।
उनले पार्टीभित्र परेको खटपटलाई आधार बनाएर ओलीले संसद र संविधानमाथि जसरी प्रहार गरेको भन्दै कांग्रेसले अश्विासको प्रस्ताव पेश गनुपर्नेमा त्यसो नभएको बताए। ‘उहाँले चालेको कदमपछि गलत सावित भयो। त्यो कदम गलत सावित भइसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने र राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेश गर्नुपर्ने थियो,’ उनले भने, ‘संख्या जतिसुकै होस्, कर्तव्य र दायित्व त पूरा हुन्थ्यो नि। हामी चाहिँ यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो। जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन।’
उनले कांग्रेसले केपी ओलीलाई राजीनामा गराउने र हटाउने निर्णय गरे पनि नेतृत्वले आलटाल गरेको आरोप लगाए।
पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताएका छन् ।
नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरूले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाए। उनले बिहीबार आफ्नै निवासमा संचारकर्मीहरूसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे ।
पौडेलले पार्टीको कार्यकाल सकिएको त डेढ वर्ष भइसकेको भन्दै समयमै महाधिवेशन हुनेमा आशंका जनाए। ‘अहिले विभागको, प्रतिष्ठानको, उपशाखाको सदस्य भइस् भन्दै मान्छेहरूलाई अन्धाधुन्द अवैधानिक तरिकाबाट पत्र काट्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले पनि भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरू चलिराखेको छ ।’
उनले अहिले सबै क्षेत्रमा स्मुथल्ली क्रियाशील सदस्यता वितरण भएको तर सभापति र उपसभापतिको प्रभाव भएको ठाँउमा खेल खेलिएको आरोप लगाए। ‘पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशील सदस्यता बाँड्ने कब्जा गर्ने खालको नितिनियत लिइएको छ,’ उनले भने, ‘त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौ ।’