नयाँ दिल्ली- दस वर्षदेखि अमर तिरुवाको परिवार भारतको पर्यटकीय नगर गोवामा बस्दै आएको छ। उनीहरुका छोरी अन्तरा ११ वर्षकी भइन्। कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवामा उनीहरुको राम्रो आम्दानीसहित जीवन आनन्दसँग बितिरहेको थियो। महामारीसँग भिडिरहेको तिरुवा परिवारको लय दुई साताअघि भताभुंग हुन पुग्यो।
उमेरले तीसको हाराहारीमा रहेका तिरुवा दम्पतीलाई कोराना संक्रमण देखियो। संक्रमणले उनीहरुको अवस्था बिग्रँदै गएपछि दुवैलाई गोवा मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनीहरुको अस्पतालमा उपचार हुँदै गर्दा छोरी अन्तरालाई भने स्थानीय चर्चमा रहेका सामाजिक कार्यकर्ताले हेरचाह गर्न थाले।
राधालाई गत शनिबार मात्र संक्रमण देखिएको थियो भने अमरको अवस्था खस्कँदै गइरहेको छ। उनी भेन्टिलेटरमा अचेत अवस्थामा छन् र पत्नी बितेको खबरबाट बेखबर छन्। दाहसंस्कार स्थलमा भीड भएका कारण राधाको शवको अन्तिम संस्कार गर्न पनि स्वयम्सेवकहरुलाई तीन दिन लागेको छ। अन्तरा आमा बितेको घटनाले मर्माहत भएकी छन्।
यता अमरकी ८० वर्षीया आमा कैलाली जिल्लामा अस्वस्थ छिन्। उनले आफ्नो छोराको सुस्वास्थ्य कामना गरिरहेकी छिन् तर त्यति टाढा रहेको छोरालाई सहयोग गर्न आफू निसहाय भएको अनुभव गरेकी छन्। मुम्बईमा रहेका अमरको भतिजा पनि यात्रा प्रतिबन्धका कारण गोवा पुग्न पाएका छैनन्। उनी भन्छन्, ‘अमरलाई नेपाल लैजान पाए हुन्थ्यो भन्ने चाहना छ तर त्यो सम्भव नहुने रहेछ।’
भारतमा कोरोनाको दोस्रो लहर उठ्दै गर्दा देखिएको तिरुवा परिवारको संघर्ष कथा विशाल सागरको एक थोपा मात्रै हो। विगत पाँच दिनदेखि भारतमा दैनिक तीन लाखका दरले कोरोना संक्रमित बढिरहेका छन्।
सरकारी तथ्यांकअनुसार भारतमा यो साता मृत्यु हुनेको संख्या दुई लाख नाघिसकेको छ। यद्यपि, जनस्वास्थ्य विज्ञहरु सार्वजनिक गरिएको तथ्यांक वास्तवितकताभन्दा न्यून भएको बताउँछन्।
भारतमा ३० लाख नेपाली कामदार रहेको अनुमान छ। मौसमी बसाइँ सराइँको यकिन तथ्यांक नभएकाले यो संख्या अझ धेरै हुनसक्ने अनुमान छ। सरकारी तथ्यांकअनुसार हालसम्म कोरोनाका कारण भारतमा ४० नेपालीको मृत्यु भइसकेको छ भने एक सय नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्। यो संख्या अझ धेरै हुन सक्छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सहयोगका लागि अनुरोध भइरहेको छ। तर स्वास्थ्य सावधानी अपनाउन विज्ञप्ति जारी गर्ने बाहेक दूतावासले गर्न सक्ने केही छैन। भारतका सबै अस्पताल बिरामीले भरिभराउ छन्।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारत सरकारलाई सेरम इन्टिच्युट अफ इन्डियाले बनाएको कोभिडसिल्ड खोपको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन लबिङ गरिरहेको बताए।
भारतले नेपाललाई दस लाख डोज खोप दिएको थियो। नेपालले थप बीस लाख डोज भने भारतसँग खरिद गरेको थियो। भारतमै कोरोना संक्रमण बढेर स्थिति बिग्रंदै गएपछि नेपालले खरिद गरेको पूरा डोज आपूर्ति हुन सकेन। आधा मात्र आपूर्ति हुन सक्यो। ‘भारतले खोपको प्राथमिकतामा नेपाललाई राखेको आश्वासन दिएको छ,’ राजदूत आचार्यले भने।
अखिल भारत नेपाल एकता मञ्चका आरबी खड्का भारतमा भएका नेपालीसँग सम्पर्क सञ्जाल बनाउँदै आपतमा परेकाहरुलाई सहयोग गरिरहेको बताउँछन्।
खड्काका अनुसार विगतको भन्दा यसपटकको संकट भयावह छ। अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव देखिएकाले नेपालीका लागि आशा गर्ने आधार बलियो छैन। यस्तो अवस्थामा विपन्न आप्रवासी मजदुरको अवस्था निकै दयनीय छ।
‘मलाई रातदिन अस्पतालमा बेड, अक्सिजन सिलिन्डर वा रेम्डिसिभिरको व्यवस्था गरिदिन फोन आएकौ आयै छ,’ खड्काले भने, ‘मैले त आस मारिसकेको छु। तर उनीहरुसँग झूटो बोल्न पनि सक्दिनँ। त्यसैले सहयोग गरुँला मात्र भन्दै आएको छु।’
दिल्लीको पहाडगन्जमा भोजनालय चलाउने अर्का नेपाली हरि रैलाको अवस्था पनि खस्किँदै गइरहेको थियो। उनलाई हतार–हतार एम्बुलेन्समा नेपाली सीमा लैजाँदै गर्दा उत्तर प्रदेशको मुरादाबाद पुग्दा अन्तिम सास फेरे।
अर्का नेपाली विष्णु पौडेललाई गुडगाउँ, गाजियाबाद, फरिदाबादका अस्पतालमा भर्ना गराउन आफन्तले गरेको प्रयास पनि सफल हुन सकेन। उनले अस्पतालमा बेड पाउन सकेनन् र गत मंगलबार उनको अक्सिजन अभावकै कारण ज्यान गयो।
दिल्लीमा भएका अन्य नेपालीलाई राम्रो उपचार सेवा होला कि भनेर नेपाल लैजाने गरिएको छ। अन्य कतिपय बिरामीलाई भने राजस्थान र मध्य प्रदेशका अस्पतालतिर दौडाइँदै छ। तर निजी अस्पतालले बिरामी भर्नाका लागि मात्र भारु पाँच लाखदेखि बीस लाख मागिरहेका छन्।
एम्बुलेन्सले बिरामी अस्पताल लैजान मात्र भारु १५ हजार माग्छन्। न्यून आय भएका नेपालीले तिर्नै सक्दैनन्। त्यस्तै, कालोबजारियाहरुले रेम्डिसिभिरको एक डोजको २० हजार भारुसम्म लिन थालेका छन्।
गत सोमबार नयाँ दिल्लीमा रहेको साउथ एसियन युनिभर्सिटीले सबै विद्यार्थीलाई होस्टल खाली गर्न सूचना जारी ग¥यो। तर विश्वविद्यालयमा भएका धेरै नेपालीको त अन्त जाने ठाउँ नभएकाले कोरोना पोजिटिभ हुँदा पनि होस्टेलमै बसिरहेका छन्।
‘विश्वविद्यालयले सूचना त जारी गरेको हो तर जाने ठाउँ कतै छैन,’ अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका बिपिन घिमिरे भन्छन्। उनका अनुसार अस्पतालले योे साता नेपाली विद्यार्थीलाई पनि फर्काइदिएको छ।
‘हामीले अस्पतालको करिडोरमा स्ट्रेचरमा बिरामी कुरिरहेका देख्यौं,’ घिमिरेले भने, ‘डाक्टरहरुले बाहिरै बिरामीलाई जाँचिरहेका थिए।’
घिमिरे आफैं होस्टेलमा सेल्फ–क्वारेन्टिनमा छन्। एकतर्फी हवाई भाडा नै ५० हजार भनिएको हुँदा अर्का विद्यार्थी मकन तामाङले तीन जना साथीसँग गोरखपुर हुँदै नेपाल आउने योजना बनाएका छन्।
‘घर जान पाउने भएपछि मलाई खुसी लागेको छ,’ सिन्धुपाल्चोक मेलम्चीका तामाङले फोनमा भने, ‘तर सीमामा के हुने हो भन्ने चिन्ता पो छ।’
नेपाल सरकारले भारतमा कार्यरत श्रमिककबारेमा कुनै वास्ता नगर्नु न्यायिक कार्य नभएको पत्रकार सुरेशराज न्यौपाने बताउँछन्। उनका अनुसार भारतमा मलेसिया र खाडी क्षेत्रभन्दा बढी नेपाली कामदार छन्।
तीन वर्षदेखि नयाँ दिल्लीमा कान्तिपुर संवाददाताका रुपमा कार्यरत न्यौपानेले भने, ‘सर्वोच्च अदालतले भारतमा रहेका कामदारलाई सहयोग गर्न आदेश दिए पनि विदेशमा रहेकालाई मात्र जोड दिनु दुर्भाग्यपूर्ण छ।’ उनले नेपालले सबैभन्दा धेरै रेमिट्यान्स भारतबाटै पाउने गरेको बताए। न्यौपानेले भने, भारतबाट नेपालले वार्षिक एक खर्ब ३० अर्ब रुपैयाँ भित्र्याउँछ।’
भारत स्थायी ठेगाना भएका तथा आधार कार्ड भएकाले खोप लिन पाउने भए पनि भारतमा रहेका धेरै नेपाली श्रमिकले कागज अभावमा खोप लिन पाएका छैनन्।
भारतमा सञ्चालनमा रहेका एउटा स्वास्थ्य पोर्टलमा कार्यरत अनु भुयान भन्छिन्, ‘भारतमा अहिले मानवीय संकट आइलागेको छ र भाइरस रोक्न सरकार अझ बढी जिम्मेवार र सक्रिय हुनुपर्ने थियो।’
उनका अनुसार लकडाउनपछि सबै खोप केन्द्र बन्द छन्। सरकारको घोषणा अनुसार त १ मेभित्र ४५ वर्षमुनिका सबैलाई खोप दिइसक्नुपर्ने थियो। तर खोप अभाव भएको तथ्यलाई सरकारले लुकाउन खोजेको छ। त्यति मात्रै होइन अक्सिजन सिलिन्डर र अन्य मेडिकल सामग्रीको पनि अभाव छ।
नेपाल सरकारले भारतले तरल अक्सिजनमा लगाउँदै आएको निर्यात प्रतिबन्ध हटाउन पनि भारत सरकारसँग माग गरेको छ। केही नेपाली अक्सिजन उत्पादकले सिलिन्डरमा अक्सिजन भर्न तरल अक्सिजनको प्रयोग गर्दै आएका छन्।
‘नेपाल र भारतको सम्बध विशेष छ र सीमा पनि खुला छ। हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ र यस्तो सहयोग संकटको बेला पनि निरन्तर हुनुपर्छ,’ राजदूत आचार्य भन्छन्। नेपाली दूतावासले भारत सरकारलाई नेपाली नागरिकलाई खोप, परीक्षण र उपचारका सुविधा प्रदान गर्न अपिल गरेको छ।
जम्मु–कश्मीरका पूर्वमुख्यमन्त्री ओमर अब्दुल्लाहले कश्मिर र लद्दाखमा रहेका नेपालीका बारेमा जानकारी लिइरहेको र अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न कुराकानी गरिरहेको बताए। ‘जजसलाई सहयोग चाहिन्छ हामी उहाँहरुसम्म पुगेरै सहयोग गर्छौं,’ उनले भने।
(सिजापतिले नयाँदिल्लीबाट लेखेको यो सामग्री नेपाली टाइम्स डट कमबाट महेश्वर आचार्यले भावानुवाद गरेका हुन्।)