काठमाडौं- देशका विभिन्न स्थानमा बुधबार राति भएका सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन्।
काठमाडौंको कलंकीमा बा.६१प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–१० बाघभैरब बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ ठूलो पडरियास्थित सडकमा ट्याक्टरसँग मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको ज्यान गएको छ। युपी ५५ एसी २६९२ नम्बरको मोटरसाइकलले लु५५प ९५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकल अनियन्त्रित भएका थिए।
सोही अवस्थामा युपी ५५ एसी २६९२ नम्बरको मोटरसाइकल लु३त ५२८५ नम्बरको ट्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक भारत घर भएका २६ वर्षीय छोटे श्रीवास्तवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु५५प ९५८० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी रौतहट, राजपुस्थित अजाद चोकमा भएको मोटरसाइकल दुर्घटनामा ४० वर्षीय प्रेमलाल पासवानको मृत्यु भएको छ। पासवानले चलाइरहेको ना२३ प ७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १६ फिट तल खसेको थियो।
बारा, बारागढीका पासवानको गौर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बारा, बारागढी नगरपालिका–१ भवानिपुर बस्ने ४० को दीपलाल पसावानको सोही अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै वीरगंजको अठराहास्थित बुधबार राति नै पिकअपको ठक्करबाट एक पैदलयात्रीको निधन भएको छ। बा.४ च २१२० नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री स्थानिय ४० वर्षीय मक्सुद आलमको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंज हेल्थ केयरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।