काठमाडौं- खुलामञ्चमा आज (बिहीबार) देखि बस रोक्न पूर्णरुपमा रोक लगाइएको छ। खुलामञ्चलाई खुल्ला राख्ने अभियानअन्तर्गत निषेध आदेशको पहिलो दिनदेखि महानगरपालिकाले बस रोक्न रोक लगाएको हो।
यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई दुईवटा विकल्पसहित बसपार्क हटाइएको काठमाडौं महानगरपाकिाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। डंगोलका अनुसार अब सबै लामो दूरीका सवारी गोंगबु बसपार्कबाटै सञ्चालन हुनेछन्। यस्तै, छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन्।
डंगोलले भने, ‘खुलामञ्च नागरिकहरुको हो, साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुलामञ्चमा ल्याइएको हो।’ अब भने खुलामञ्चलाई खुला नै राख्ने डंगोलले बताए।
खुलामञ्च परापूर्वकालदेखि नै काठमाडौंवासीहरुको संस्कृतिसँग जोडिएको क्षेत्र हो।
खुला क्षेत्रको अभाव भएको काठमाडौंमा ६ वर्षअघि विनाशकारी भूकम्प जाँदा खुलामञ्चले हजारौं काठमाडौंवासीलाई महिनौँसम्म शरण दिएको थियो।
पुरानो बसपार्कमा टावर निर्माणका लागि काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द बिकोई कम्पनीबीच २०७१ भदौमा भएको सम्झौता २०७३ साउनमा सकिएको थियो। तर सम्झौता सकिने बेलासम्म टावर निर्माणको काम नगन्य मात्रामा भएको थियो।
महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौताको मिति थप गरेर पाँच वर्ष (२०७८) असारभित्रै भौतिक संरचना निर्माण गरिसक्नुपर्ने भनिएको छ। सम्झौताअनुसार २०७८ असार महिनाभित्र टावरको भौतिक संरचना निर्माण गरेर टावर व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिसक्नुपर्ने छ।
महानगरको भनाइअनुसार भ्यु टावर निर्माण कार्य अब ७/८ महिनामा सकिन्छ र पुरानो बसपार्क त्यही सारिनेछ।
तर अत्याधुनिक सुविधा सम्पन्न काठमाडौं भ्युटावरको निर्माणले गति लिन सकेको छैन। निर्माण कम्पनीको लापरवाहीले महानगरपालिकाको महत्वाकांक्षी योजना मानिएको टावर निर्माण कार्यले सम्झौता भएको साढे ५ वर्षसम्म पनि गति लिन सकेको छैन।