शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेमा लागेका दुई मेयरसहित रौतहटका सात जनप्रतिनिधि माओवादीबाट निष्कासित

एमालेमा लागेका दुई मेयरसहित रौतहटका सात जनप्रतिनिधि माओवादीबाट निष्कासित

नेकपा (एमाले)मा लागेको भन्दै माओवादी केन्द्रले रौतहटका दुई नगर प्रमुखसहित सात जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

जनकपुरधाम– नेकपा (एमाले)मा लागेको भन्दै माओवादी केन्द्रले रौतहटका दुई नगर प्रमुखसहित सात जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको छ। 

माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बनेका जनप्रतिनिधि नेकपा एमालेमा सहभागी भएपछि कारबाही स्वरुप पार्टीबाटै निष्कासन गरिएको हो। 

माओवादी केन्द्रबाट विजयी भएका रौतहट मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, माधवनारायण नगरपालिकाकाका उपप्रमुख सिमल साह, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी साह, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर जयसवाल र देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवीलाई पार्टीबाट निष्कासन गरिएको माओवादी केन्द्रका जिल्ला सचिव देवेन्द्र पटेलले जानकारी दिए। मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह मन्त्री प्रभु साहकी श्रीमती पनि हुन्।   

सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि दुई अलग–अलग पार्टीमा परिणत भए पनि माओवादी केन्द्रको तर्फबाट विजयी भएका जनप्रतिनिधि एमालेकै विभिन्न कार्यक्रममा गइरहेको सूचना आफूहरुले पाएपछि उनीहरुलाई तत्कालै स्पष्टीकरण सोधेर कारबाही गरेको पटेलले बताए। उनले एमालेको कार्यक्रममा सहभागी नहुन पटक पटक भने पनि बेवास्ता गरेपछि कारबाहीस्वरुप पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको उनको भनाइ छ।

सचिव पटेलले भने, ‘सुरुमा उहाँहरुलाई मौखिक रुपमै पार्टी हित विपरित काम नगर्न आग्रह गर्यौँ। तर उनीहरु त्यस्ता कार्यमा सहभागी भई नै रहे।’
सचिव पटेलका अनुसार सातै जना जनप्रतिनिधिलाई  वैशाख १० गते स्पष्टीकरण सोधिएको थियो। तर उनीहरुले पार्टीका जिल्ला सचिव पटेललाई नै कानुनविपरीत स्पष्टीकरण सोधेको भन्दै कालोमोसो दल्ने चेतावनीसहितको जवाफी पत्र पार्टीको जिल्ला कार्यालय रौतहटमा बुझाएका थिए। 
‘पार्टीबाट लिखित रुपमा स्पष्टीकरण सोधिँदा उहाँहरुले कुन आधारमा कारबाही गरिएको हो भन्दै मसँग नै स्पष्टीकरण सोधेको जस्तै आशयसहितको जवाफी पत्र पठाउनुभयो,’ पटेलले भने, ‘यहाँसम्म कि जिल्ला सचिवलाई कालोमोसो दल्नेसम्मको चेतावनी दिनुभयो। हामीले उहाँहरुले पठाएको उक्त जवाफी पत्र पार्टी केन्द्रीय कार्यालयमा पठाइदिएका छौं।’
कारबाहीस्वरुप पार्टीबाट निष्कासन गरिएका कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले भने आफूहरुलाई कानुनविपरीत पार्टीबाट निष्कासन गरिएको भन्दै यसविरुद्ध अदालत जाने चेतावनी दिए। उनले पार्टीबाट निष्कासन गर्नु एक दिन पहिलेमात्रै आफूसहितका अन्य जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको दावी गरे। अब अदालत पुगेर न्याय माग्ने कुश्वाहाको भनाइ छ।  
यस्तै कारबाहीमा परेकी रौतहटकै माधवनारायण नगरपालिकाकाका उपप्रमुख सिमल साहले पार्टीले कारबाही गरेको स्वीकार गरे पनि के कारणले निष्कासन गरिएको हो भन्ने प्रश्नको जवाफ भने दिन मानिनन्।
०७४ सालको स्थानीय तहको निर्वाचनमा उनीहरु सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

प्रकाशित: Apr 29, 2021| 08:29 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।