शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ढुवानीमा अवरोध भइरहेको व्यवसायीको गुनासो, प्रहरी भन्छ- दैनिक उपभोग्य वस्तु रोक्दैनौं

ढुवानीमा अवरोध भइरहेको व्यवसायीको गुनासो, प्रहरी भन्छ- दैनिक उपभोग्य वस्तु रोक्दैनौं

नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेका पोखरेल सरकारले बिहीबारबाट जारीको गरेको निषेध आदेशमा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई समेत सडकमा रोकिएको बताउँछन्। 
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं- ‘यहाँ कार्गो–कुरिअरलाई सजिलो छ। तर हामीलाई गाह्रो। कतिपय ठाउँमा ‘ढुवानीलाई खुल्ला गरेको छैन, तपाईंको कार्ड चल्दैन’ भन्दै हाम्रा साथीलाई रोकेको पाइयो,’ ढुवानी व्यवसायी धर्मराज पोखरेल गुनासो पोख्छन्। 

नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेका पोखरेल सरकारले बिहीबारबाट जारीको गरेको निषेध आदेशमा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई समेत सडकमा रोकिएको बताउँछन्। 

‘सितापाइलामा भर्खरै कार्ड देखाउँदा-देखाउँदै दुईजना साथीहरूलाई रोकिएछ । सेवाप्रदायक संस्थाका कर्मचारीको आवतजावतमा रोक भयो भने कसरी सेवा दिने?,’उनी प्रहरीसँग पर्याप्त समन्वयको अभाव देख्छन्।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई ‘अत्यावश्यक’ सामग्री बोक्ने सवारीसाधनलाई कहीँकतै रोकतोक नभएको दाबी गर्छन्। ‘हामी अत्यावश्यक भनिएका फलफुल, चामल, दाल तेल, दही, दूधलगायतका दैनिक उपभोग्य वस्तु बोक्ने सवारीसाधन, पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री बोक्ने सवारी साधन कँहीकतै रोकेका छैनौँ,’ एसएसपी भट्टराईले नेपालसमयसँग भने, ‘हामीले सामान हेर्दै गाडी छोडिरहेका छौँ।’ 

‘सामान पुर्‍याएर फर्किएका खाली गाडी पनि त हुनसक्लान् नि?’ भन्ने प्रतिप्रश्नमा उनको जवाफ छ, ‘खाली गाडी त हुँदैन। के बोक्ने हो, कसरी थाहा हुन्छ र?’ 

एसएसपी भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यलयको मापदण्ड विपरीत चलाइएका १५ सय बढी सवारीसाधन ‘होल्ड’मा राखिएको छ। ‘हामी ठाउँठाउँमा चेकिङ गरिरहेका छौँ। काठमाडौं, भक्तपुर र ललितपुर गरेर १५ सय बढी सवारीसाधनलाई रोकेका छौँ। जसमा १२ सय बढी मोटरसाइकल छन्। रोकिएका सबै सवारीसाधन साँझ मात्रै छाड्नेछौँ,’ उनले भने । 

के हुन् ‘अत्यावश्यक सामग्री’?
जिल्ला प्रशासन कार्यलयले जारी गरेको सूचनामा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल तथा दूग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका ढुवानी तथा यातायातका साधनलाई ‘अत्यावश्यक’ भनिएको छ। ‘हामी फिल्डमै पुगेर अनुगमन गरिरहेका छौँ, अत्यावश्यकलाई रोकेका छैनौँ,’ फिल्ड भिजिटका क्रममा थानकोट नाकामा भेटिएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘अत्यावश्यकलाई हामी रोक्दैनौँ तर अनावश्यक काममा बाहिर निस्कनेलाई छाड्दैनौँ, कारबाही गर्छौँ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा सर्वसाधरणको सेवालाई दृष्टिगत गर्दै उपत्यकामा चार वटा बिक्री केन्द्र खुला गरी खाद्यान्न बिक्री गर्ने निर्णय गरेको छ। 

कम्पनीले उपभोक्ताको सहजताका लागि थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट आवश्यक पर्ने खाद्य सामग्री बिक्री गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बिक्रीका लागि समय तोकिएको छ। रामशाहपथ र सूर्यविनायक बिक्री केन्द्र बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुनेछ भने नख्खुबाट बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म खाद्यान्न बिक्री गरिनेछ।

त्यस्तै महामारीको समयमा हुने असहजतालाई नै दृष्टिगत गरी कम्पनीले उपत्यकाभर अनलाइनमार्फत् नै सेवा प्रदान गर्ने भएको छ। चक्रपथभरि नेपालफुड र उपत्यकाभर सस्तोडिलबाट घरमै बसीबसी सेवा लिन सकिने कम्पनीले बताएको छ। 

यसरी अनलाइनबाटै खाद्यन्न सेवा प्रदान भइरहेको अवस्थामा सेवामा संलग्न व्यक्ति र सवारीलाई प्रहरीले कँही पनि रोक्न नमिल्ने ढुवानी व्यवसायीको माग छ। ‘सेवामा संलग्न व्यक्तिहरु सधैँ सामग्रीसहित नहिँडेका हुन सक्छन्, खाद्य केन्द्र या अफिसमा गइरहेका हुन सक्छन्, त्यो चेकिङमा बस्ने प्रहरीले बुझ्नुपर्छ,’ ढुवानी व्यवसायी पोखरेलको आग्रह छ। 

उपत्यकामा जाम किन?
निषेधाज्ञाको पहिलो दिन उपत्यकामा कोटेश्वर, कलंकी, रत्नपार्क, सुन्धारा, नागढुंगा लगायतविभिन्न स्थान सवारीसाधनको चहलपहल बाक्लो थियो। नागढुंगाको जाम रोक्न त काठमाडौंका प्रमुख जिल्ला अधिकारीदेखि ट्राफिक प्रहरी प्रमुखसम्म ‘स्पट’मा पुगेका थिए। 

Image
निषेध आदेश लागू भएको पहिलो दिनमा कोटेश्वरको जाम। तस्बिर : तीर्थराज बस्नेत

यस्तो जाम किन भयो? ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईसँगको जिज्ञासामा उनको जवाफ थियो, ‘सरकारले यसपटक धेरै व्यवसायलाई संचालनमा छुट दिएको भएर भिड देखिएको हुन सक्छ। हामीले त निषेध आदेशमा सरकारले जसलाई छोड्नु भनेको छ, त्यसलाई छाडेका छौँ, जसलाई नछोड्नु भनेका छौँ, उनीहरुलाई रोकेका छौँ।’

निषेधाज्ञा लम्बिएला?
धेरै सर्वसाधरणमा यतिखेर आशंका छ, कोभिड-१९ को पहिलो लहरमाझैँ यसपटक पनि निषेधाज्ञा लम्बिएला। २२ गते १२ बजेसम्मका लागि भनिएको निषेधाज्ञा अझै लम्बिने उनीहरुको अनुमान छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालसँग सर्वसाधरणको यही जिज्ञासा राख्दा जवाफमा उनी भन्छन्, ‘त्यसपछिको स्थिति हेरेर हामी जे गर्छौँ, विवेकसम्मत निर्णय गर्छौ।’

प्रकाशित: Apr 29, 2021| 08:17 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।