डडेल्धुरा- नेपाल पत्रकार महासंघ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको छ। महासंघलाई कुनै सूचना नै नदिई प्रहरी बल तैनाथ गरी अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी भवनमा क्षति पुर्याइए हो।
नवनिर्मित भवनमा क्षति पुर्याइएको घटनाप्रति पत्रकार महासंघ डडेल्धुरा शाखाले विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासंघका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन्।
महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासंघसँग रहेका अवस्थामा प्रचलित कानुन विपरीत भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ। सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाइएको छ।
डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जानमा गल्ती भएको भनी जवाफ दिएका छन्। महासंघले जिल्लाका साधारण सदस्यबाट लेवी तोकेर निर्माण गरिएको सो भवनमा पुर्याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारबाही नगरिएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।