पोखरा– राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसदको अवस्था सार्वजनिक गर्न माग गरेको छ।
पार्टीकी सचेतक पियारी थापाले गण्डकीका सांसद खिमविक्रम शाहीको अवस्था सार्वजनिक गर्न माग गर्दै प्रदेश सभामा निवेदन दिएकी हुन्। ‘उहाँको अवस्था सार्वजनिक गर्न माग गर्दै निवेदन दिएका छौं,’ थापाले नेपाल समयसँग भनिन्।
निवेदनमा शाहीको अवस्थाबारे जानकारी नभएसम्म सदनको कामकारवाही रोक्न माग गरिएको छ। “मुख्यमन्त्रीज्यूको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन हाम्रो पार्टीको प्रदेशसभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्नु भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु,’ उनको निवदेनमा भनिएको छ ।
तर खिमविक्रम शाहीका स्वकीय सचिव मिलन हमालले शाही बिरामी भएको फेसबुकमार्फत जानकारी दिएका छन्। उनी बिरामी भएर आफ्नै भाइ जुनविक्रम शाहीसँग रहेको उनको फेसबुक पोष्टमा उल्लेख छ।